१६ बैशाख २०८१, आईतवार

 

फ्युचर ब्राईटर फुटसल कप सुरु, १८ समूहबीच प्रतिस्पर्धा

बागलुङ । फ्युचर ब्राईटर बोर्डिङ स्कुलको ३५ औँ वार्षिकोत्सवको अवसरमा कक्षा ६ सम्मका विद्यार्थीको फुटसल प्रतियोगिता शुरू भएको छ ।

आइतबार सम्पन्न पहिलो र दोस्रो समिकरणको १२ खेलबाट गुराँस विद्या सदन र न्यू एभरेष्ट एकेडेमी सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै दोस्रो चरणको २ खेल बाँकी रहेको छ जसमध्ये रूद्रेपिपल मावि र धौलागिरि विरेन्द्र मावि तथा अमर आदर्श मावि र फ्युचर ब्राईटर (ए) बीच सेमीफाइनलका लागि खेल हुने फ्युचर ब्राईटरका शिक्षक टिकाजित पुनले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेल क्षेत्रले विद्यार्थीमा अनुशासन कायम हुनेसँगै पछिल्लो समय निजी क्षेत्रका विद्यालयले खेल क्षेत्रमा राम्रो लगानी गर्न थालेको भन्दै यसले राम्रो परिणाम समेत दिने बताउनुभयो ।

कार्यक्रममा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्का, नेपाल पत्रकार महासघ बागलुङका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, विद्यार्थी मन्दिरा थापाको स्वागत, शिक्षक सुवर्ण मल्लको संचालनमा सम्पन्न भएको थियो ।

खेल मार्फत बालबालिकालाई तन्दुरुस्त र अनुशासित बनाउने लक्ष्यले खेल आयोजना गरिएको विद्यालयका प्रिन्सिपल वालकृष्ण शर्माले बताउनुभयो ।

खेलमा १८ विद्यालयको सहभागिता रहेको छ । खेलमा विजेताले १२ हजार नगद, मेडल र ट्रफी तथा उपविजेताले ६ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक लवसन थापाले जानकारी दिनुभयो

।विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा नृत्य प्रतियातिता, खोखो प्रतियोगिता, कबड्डि प्रतियोगिता, बाँस्केट बल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । मूल समारोह फागुण २ गते रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्