१५ बैशाख २०८१, शनिबार

 

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । व्यवसायी अरुण कुमार चौधरीलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी कुमार चौधरीलाई म्याद थप नगरि दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए ।

आचार्यको विषयमा विवाद आएपछि प्रधानन्यायाधीश श्रेष्ठले नै आचार्यलाई मुगुमा काज सरुवा गरिदिएको हो। आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए ।

एक न्यायाधीशको दरबन्दी रहेको मुगु जिल्ला अदालतमा हाल रामानन्दप्रसाद अधिकारीको दरबन्दी छ । आचार्यलाई मुगुमा काज सरुवा गरिएपछि अधिकारीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्