७ जेष्ठ २०८१, सोमबार

 

पञ्चकोटमा जनप्रतिनिधिहरुको सम्मेलन सम्पन्न

बागलुङ । बागलुङको धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा संचालित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञमा शनिबार गण्डकी प्रदेशमा विकासको अवधारणा सम्बन्धी जनप्रतिनिधिहरुको सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनमा बोल्दै गण्डकी प्रदेश समा सदस्य जित शेरचनले अध्यामिक चिन्तनले मानिसलाई सहि मार्गमा लैजाने बताउनु भयो ।

शेरचनले प्राकृतिक श्रोत र साधनको परिचालन र विकासले प्रदेशलाई समृद्ध बनाउने भएकोले प्रकृतिक संरक्षण गर्नु पर्ने बताउनु भयो । ऐतिहासिक महत्वको पञ्चकोटको विकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको सांसद चम्पा देवी खड्काले बताउनु भयो ।

।सम्मेलनमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण चन्द्र देवकोटाले प्रस्तुत गर्नु भएको अवधारण पत्रमा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा, भिमाद नरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले टिप्पणी गर्नु भएको थियो ।

सो अवसरमा उहाँहरुले पञ्चकोटको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । वहसमा भाग लिदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले विकास निर्माणका कार्यमा सबैसँग सहकार्य गरेर जाने बताउनुभयो ।

उहाँले पञ्चकोटको विकासका लागि नगरपालिकाको तर्फबाट ५० लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रम पञ्चकोटका परिकल्पनाकार कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

महायज्ञमा साविक धौलागिरि लगायत नेपालका विभिन्न जिल्लाबाट आउने भक्तजन तथा पर्यटकको भिड बढ्दै गएको हो ।

महायज्ञको चौथो दिन १० हजार बढि भक्तजनले महायज्ञको अवलोकन गरेको पञ्चकोटधामका अध्यक्ष दामोदर सास्त्री दाहालले जानकारी दिनुभयो ।

विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अनुसार महायज्ञका अवसरमा ५ हजार ५ सय ५५ किलोको महाघण्ट राष्ट्रपति रामचन्द्र पौडेलबाट अनावरण गरिएको छ ।

पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलामले निर्माण गरिएको मुक्तिनाथ महाघण्ट बनाउन ८ वर्ष कुर्नुपरेको महायज्ञका संकल्पकर्ता तथा पञ्चकोटधामका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताउनुभयो ।पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्व शान्ति कलशको नजिकै महाघण्टी राखिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्