२१ बैशाख २०८१, शुक्रबार

 

ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार वीरबहादुर चोखाललाई

बागलुङ । ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार वीरबहादुर चोखाललाई प्रदान गरिएको छ । नयाँ विश्व पत्रिकाको सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको पुरस्कार उहाँलाई प्रदान गरिएको हो ।

गौचनको स्मृतिमा स्थापना भएको पुरस्कारको राशी १० हजार रुपैयाँको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेर विसं २०५६ मा महिमा साप्ताहिक हुँदै हालसम्म अनवरत रुपमा चोखाल सञ्चार कर्ममा क्रियाशील हुनु हुन्छ ।

२४ वर्षदेखि पत्रकारितामा सक्रिय रही हाल गलकोटपत्र साप्ताहिकको कार्यकारी सम्पादक र सामुदायिक रेडियो गलकोट एफएमको सम्पादकका रुपमा उहाँले ग्रामीण पत्रकारितालाई जिउँदो राख्न अथक मेहनत र संघर्ष गर्नु भएको छ ।

चोखालले सञ्चार कर्मकामार्फत समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले उहाँलाई ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’ समर्पण गर्नु भएको हो।

२००८ सालमा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक र प्रकाशक ओमकार गौचनको नाममा स्थापित सो पुरस्कार दोस्रोपटक चोखाललाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए।

तीन वर्षअघि दिवंगत भएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। २०४८ सालको संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ–३ को सांसदमा निर्वाचित हुनु भएको थियो।

समाजसेवामा पनि उत्तिकै क्रियाशील उनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गर्नु भएको थियो। पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप चोखाललाई सम्मानित गरिएको हो, ‘नयाँ विश्व’का प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठले बताउनु भयो।

कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माको अध्यक्षता, उपाध्यक्ष सुवाशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्