१५ बैशाख २०८१, शनिबार

 

वीरशाली पन्त गौरवमय पुरस्कार प्राडा जगन्नाथ रेग्मीलाई

बागलुङ । ‘वीरशाली पन्त गौरवमय पुरस्कार’बाट प्रा.डा. जगन्नाथ रेग्मी सम्मानित हुनुभएको छ ।

बागलुङ नगरपालिकाद्वारा विसं २०७७ मा स्थापित वीरशाली पन्त स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी  विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्रा.डा. रेग्मीलाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

रेग्मीलाई कोषका अध्यक्ष साहित्यकार प्रेम छोटा, निवर्तनान नगरप्रमुख जनकराज पौडेल र बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो।

पुरस्कृत प्राडा रेग्मीका दर्जन बढी भाषा, साहित्य, धर्म, संस्कृतिका विषयका कृति प्रकाशित छन् ।

तत्कालीन पर्वत राज्य कालमा मुलपानीको ढिकीचौर गाउँमा जन्मनु भएका साहित्यकार पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

पर्वत राज्यको राजा किर्तिबम मल्लको शासन कालमा उहाँ पर्वत राज्यको विद्धान हुनुहुन्थ्यो। प्राथमिक कालपछिको भक्तिकालका पन्त कृष्णभक्त हुनुहुन्थ्यो । उहाँले कृष्ण चरित्र, विमला वोध कृति लेख्नुभएको छ। उहाँले भारतको वृन्दावनमा बाँकी जीवन बिताउनुभएको थियो ।

विसं १८७० देखि १९४३ सम्म भक्ति साहित्य काल थियो । त्यसताका पन्तका साथै नारायण र लक्ष्मी नारायण विद्धानहरु पनि चर्चित थिए । सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले साहित्यकार वीरशाली पन्तले बागलुङमा जन्मेर भाषा, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।

खड्काले कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले सक्दो सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्याक्तित्व प्रा.डा. जगन्नाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, निवर्तमान नगर प्रमुख जनक राज पौडेल, साहित्यकार काजी रोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, बीना कार्की र समाजसेवी विश्वनाथ रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वीरशाली पन्त स्मृति कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षता, कोषका सदस्य वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठको स्वागत मन्तव्य र सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

कला, साहित्य र संकृतिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई पुरस्कृत गर्न उद्देश्यले बागलुङ नगरपालिकाले साहित्यकार पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगर कार्यपालिको बैठकले स्मृति कोष स्थापना गरेको थियो

 

प्रतिक्रिया दिनुहोस्