१६ बैशाख २०८१, आईतवार

 

अर्ना जेसीज कप उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण भिड्ने

बागलुङ । दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सुधार केन्द्रको लागि विदेशी खेलाडी साम्बो ओस्कारले पहिलो गोल गरेका थिए । खेलको ४७ औँ मिनेटमा आशिष केसीले प्रहार गरेको फ्रिकिक बललाई ओस्कारले गोलमा परिणत गरेका थिए ।

रुद्रेपिपलका अविसेक गुरुङले खेलको ५७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । गुरुङले डिबक्स भित्र सुधार केन्द्रका गोलरक्षक सहित दुई डिफेन्डरलाई विट गरेर सुन्दर गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा बरदान निउरे गोल गर्दै बागलुङ सुधार केन्द्रलाई फाइनलमा स्थान पक्का गराए । साम्बो ओस्कारको पासलाई निउरेले सुन्दर गोलमा परिणत गरेका थिए ।

यस्तै साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणले फाइनलमा स्थान पक्का गरेको छ । दोस्रो सेमिफाइनल खेलमा श्री मेहर गणले आदर्श स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गणको लागि खेलको दोस्रो मिटेमा प्रकाश निरौलाले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा आदर्शका सुरेन्द्र गुरुङले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको ७९ औं मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहर गणको फाइनल यात्रा पक्का गरे ।

खेलको ४५ औँ मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका चौधारीले सुन्दर गोल गर्दै गणलाई दोस्रो संकरणमा पनि फाइनलमा पु¥याए ।

प्रतियोगिताको फाइनल शुक्रबार हुने आयोजक बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताए ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

तस्बिर ढोरपाटनबाट

 

प्रतिक्रिया दिनुहोस्