१६ बैशाख २०८१, आईतवार

 

अर्ना जेसीज कप फुटबलको उपाधि बागलुङ सुधार केन्द्रलाई

बागलुङ। अर्ना दोस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि बागलुङ सुधार केन्द्रले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणलाई ३–२ गोलअन्तरले पराजित गर्दै सुधार केन्द्रले उपाधि चुमेको हो ।

डिफेन्डिङ च्याम्पियन श्रीमेहर गणले सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा लगातार उपाधि जित्नबाट बन्चित भयो ।

खेलको चौथो मिनेटमा यामलाल कँडेलले गोल गर्दै गणलाई अग्रता दिलाएका थिए । त्यस लगतै सुधार केन्द्रका बरदान निउरेले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको २१ औँ मिनेटमा कप्तान प्रकाश निरौलाले गोल गर्दै गणको अग्रता दोब्बर बनाएका पनि धेरै बेर टिक्न सकेन् । दुई गोलले पछि परेको सुधार केन्द्रको लागि खेलको २४ औँ मिनेटमा क्यामरुनी खेलाडी साम्बा ओस्करले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ मा पु¥याएका थिए ।

दोस्रो हाफमा सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको सुधार केन्द्रले ४९ औँ मिनेटमा आशिष केसीको फ्रिकिक बललाई अभिशेक रानाले हेडमार्फत आर्कषक गोल गर्दै खेललाई २–२ गोलको बराबरी गराएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ९३ औँ मिनेटमा सुधार केन्द्रका वरदान न्यूरेले गोल गर्दै टिमलाई अग्रता दिलाए । न्यूरेको गोल नै सुधार केन्द्रलाई उपाधि दिलाउन निर्णायक बन्यो ।

विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै विधागत पुरस्कारमा पनि सुधार केन्द्रका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका बरदान न्यूरे बनेका छन् ।

न्यूरेले सुधार केन्द्रको लागि सेमिफाइनल र फाइनल खेलमा निर्णायक गोल गरेका थिए । यस्तै सुधार केन्द्रका साम्बो ओस्कर सर्वाधिक गोलकर्ता बनेका छन् ।

उनले प्रतियोगितामा ५ गोल गरेका थिए । सुधार केन्द्रकै मार्टो भेराटी उत्कृष्ट मिडफिल्डर र अशोक रेग्मी उत्कृष्ट गोलरक्षक बनेका छन् । यस्तै श्रीमेहर गणका खुम कट्वाल उत्कृष्ट डिफेन्डर घोषित भए ।

यस्तै आदर्श स्पोर्टस क्लबका फिलिप्स भिक्टर उत्कृष्ट गोलकर्ता बनेका छन् । बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

दोस्रो जेसीज कप फुटबल प्रतियोगिताको मुख्य प्रायोजन अर्ना वियरले गरेको बागलुङ जेसीजका पूर्वअध्यक्ष श्रीजय श्रेष्ठले जानकारी दिए ।

तस्बिर अर्जुन कार्की र सञ्जन सिंह

 

प्रतिक्रिया दिनुहोस्