१७ बैशाख २०८१, सोमबार

 

‘जातीय विभेद हटाउन एक जुट भएर साझा पहल गरौं’

बागलुङ । ५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद विरुद्धको दिवश बागलुङमा बिहीबार मनाइएको छ । दक्षिण अफ्रिकामा काला जातीले अधिकारका लागि गरेको आन्दोलन र नेपालमा दलित मुक्तिका लागि भएका आन्दोलनको सम्झनामा यो दिवश मनाउने गरिन्छ ।

बागलुङ नगरपालिकाको आयोजनामा भएको दिवशमा जातीय विभेदको स्वरुप फेरिएको, विभेदलाई समुदायमा संस्थागत गरिएको लगायतका टिप्पणी समेत भए । विवाह व्रतवन्ध लगायतमा हुने विभेद संस्थागत भएको समेत सहभागीहरुको भनाई छ ।

जातीय छुवाछुतका कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको बदनाम भएको पनि उनीहरुले बताए ।समाजमा रहेका जातीय भेदभावसहित विभिन्न किसिमका सामाजिक विभेदहरुको अन्त्य गर्न सबै एक जुट भएर साझा पहल आवश्यक रहेको सहभागिको भनाई छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको अध्यक्षता र सामाजिक विकास शाखा प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा माओवादी नेता वलावती शर्माले छुवाछुत र विभेद हटाउन राज्य नै गम्भिर बन्नुपर्ने बताइन् ।

राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनेदेखि सचेतना फैलाउने काममा पनि सहयोग गर्नुपर्नेमा शर्माको जोड थियो ।बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले छुवाछुतलाई अन्त्य गर्न जनप्रतिनिधिको रुपमा अग्रसर भएको बताए । उनले स्थानीय सरकारको रुपमा पनि आफ्नै पहल हुने जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, एमाले अध्यक्ष हिराबहादुर केसी, कांग्रेस जिल्ला कार्यसमितिका सदस्य विजय अधिकारी, एमाले नगर अध्यक्ष धनबहादुर परियार, बानपा २ का अध्यक्ष सुरज बोसेल, महिला अधिकारकर्मी टिकाकुमारी विश्वकर्मा, ताराबहादुर विक, भक्तबहादुर विक, लालबहादुर परियार, लक्ष्मण श्री लगायतले मन्तव्य राखेका थिए ।

अधिवक्ता यामबहादुर चर्माकारले रंगभेद र जातीय विभेद विरुद्धको अभियानमा सबैको चासो बढाउन सामुहिक पहल र सामुहिक अपनत्व लिनुपर्ने धारणा सहितको कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्