१९ बैशाख २०८१, बुधबार

 

महासंघको सदस्यता टुंग्याएर मात्रै अधिवेसन गर्न प्रेस युनियन बागलुङको माग

बागलुङ। नेपाल प्रेस युनियन बागलुङले नेपाल पत्रकार महासंघको सदस्यता टुङ्ग्याएर मात्र अधिवेशन घोषणा गर्न माग गरेको छ ।

नेपाल प्रेस युनियन बागलुङले बिहीबार नेपाल पत्रकार महासंघ बागलुङ मार्फत गण्डकी प्रदेश र केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले सदस्यताको टुंगो नलगाई जिल्ला अधिवेशन घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

युनियनले महासंघले थालेको सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको तर सदस्यता शुद्धीकरणका विषयमा परेका हजारौं उजुरीहरुको टुंगो नलगाई जिल्ला जिल्लामा अधिवेशनहरु अगाडि बढाउँदा यसले पत्रकारहरु बीचमै तनावको सिर्जना गर्ने र महासंघ विवादित हुँदा संस्थाकै गरिमा माथि प्रश्न उठ्ने अवस्था आउन सक्ने देखिएकाले पहिले महासंघको सदस्यताको विषयलाई टुंगोमा पु¥याई त्यसपछि मात्रै अधिवेशनको मिति घोषणा गर्न ध्यानाकर्षण गराएको जनाएको छ ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरद्वारा हस्ताक्षर गरी बुझाईएको ध्यानाकर्षण पत्रमा सदस्यताको टुंगो नलाग्दा अधिवेसनमा सहभागितासँगै त्यसको वैधानिकता माथि नै प्रश्न उठ्ने खतरा रहेको र नेपाल पत्रकार महासंघ बागलुङकै झण्डै तीन चौथाई हाराहारी सदस्यको सदस्यता कायम नरहने गण्डकी प्रदेश समितिले निकालेको सदस्यताको सूचीमा उल्लेख गरिएकोले यस्तो अवस्थामा अघिल्लो अधिवेशनमा सहभागी सबै सदस्य अविधेशनमा सहभागी भएर अधिवेशन सफल बनाउने र प्रतिवेदनहरु पारित गर्ने विषय महासंघको कोरा कल्पना मात्र हुन सक्ने उल्लेख गरिएको छ ।

युनियनले विवाद बल्झाउने र अधिवेशन नै असफल हुने अवस्थालाई ध्यानमा राख्दै महासंघको सदस्यताको टुंगो नलाग्दासम्म बागलुङ जिल्ला अधिवेसनको मिति घोषणा नगर्न नेपाल पत्रकार महासंघ जिल्ला समिति बागलुङलाई नेपाल प्रेस युनियनले आग्रह गरेकोछ ।

युनियनले जिल्ला अधिवेशन घोषणा गरेर पत्रकारहरु बीचमा विवाद सिर्जना गर्नु भन्दा सदस्यता विषय छिटो टुङ्ग्याएर पत्रकार महासंघलाई श्रमजिवि पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्दै सहज रुपमा अधिवेसन गर्ने वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सदस्यताको विषय टुङ्ग्याएर मात्रै अधिवेशनमा जाँदा सबैलाई सहज हुने भनि नेपाल प्रेस युनियनले उठाएको विषय महत्वपूर्ण रहेकाले यो विषयलाई तत्कालै प्रदेश र केन्द्रीय समितिमा जानकारी गराउने बताए ।

‘सदस्यता सुद्धीकरणको कुराले गर्दा अहिले धरै जनाको उजुरी केन्द्रमा पुगेको छ,’उनले भने,‘त्यसको टुंगो नलाग्दासम्म हामीलाई पनि अधिवेशन गर्न सहज अवस्था छैन ।

यो विषय प्रेस युनियनको मात्र नभई सबै पत्रकारसँग सम्बद्ध सबै पेशागत पत्रकार संस्थाहरुको साझा धारणा बन्नुपर्छ । यो विषयलाई हामी प्रदेश र केन्द्रमा जानकारी गराउँछौं ।’

प्रतिक्रिया दिनुहोस्