१८ बैशाख २०८१, मंगलवार

 

तीन लाख राशिको कालिका कप भलिबल सुरु

बागलुङ । हरेक वर्ष चैत्राष्टमी मेलाको अवसरमा आयोजना हुने कालिका कप भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले उद्घाटन गरेका छन ।

खेल उद्घाटनमा खेलाडीलाई शुभकामना दिँदै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप भलिबल प्रतियोगिता राष्ट्रिय स्तरकै ठुलो राशिको प्रतियोगिता भएको बताए ।

उनले पछिल्लो समयमा युवा पुस्ताको रोजाईको रुपमा रहेको भलिबल खेलको संरक्षण र प्रवद्र्धनमा कालिका भगवती गुठी व्यवस्थापन समितिले राम्रो सहयोग पु¥याएको बताए ।

शुक्रबारदेखि सुरु खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन खेल तित्याङ भलिबल र गैडाकोट युनाईटेड क्लब बीच भएको थियो । मैत्रीपुर्ण रुपमा संचालन गरिएको खेल तित्याङ भलिबल क्लबले गैडाकोट युवा क्लबलाई ३—० सेटले पराजित गराएको थियो ।

बैशाख ६ गतेसम्म संचालन हुने मेलामा भलिबलका लागि विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसैँ मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता संचालन भएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई एक लाख ५० हजार रुपैयाँ र तृतीय टोलीलाई एक लाख प्रदान गरिने चैत्राष्टमी मेला मुल आयोजक समितिका संयोजक एवं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई नगद ५ हजारका दरले पुरस्कृत गरिने छ ।

मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ ।

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद दुई लाख पुरस्कार रुपैयाँ र द्वितीय हुनेलाई एक लाख रुपैयाँ र तृतीय हुनेलाई ५० हजार रुपैयाँ र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट भेषभुषामा महिला–पुरूषलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

मेलामा स्थानीय उत्पादनको प्रवद्र्धनका लागि विभिन्न स्टलहरु राखिएको अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्