बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको आयोजनामा अन्तर स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीबिच असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दे जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले नयाँ आयामहरुका विषयमा उठेका समस्या तथा विवादको समाधान गर्ने पहिलो सरकार नै स्थानीय सरकार भएकोले संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्ने बताउनु भयो ।
जिल्ला न्यायाधीश अधिकारीले न्यायिक समितिका आइपर्ने कानुनी जटिलताका बारेमा आवश्यक परामर्श र सहजिकरण गर्न आफू सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला अदालतका श्रेस्तादार शिवहरी सुवेदी, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा छन्त्याल, निसिखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती, ताराखोला गाउँपालिका उपाध्यक्ष भिम रोका, गलकोट नगरपालिकाका न्यायिक समितिका सदस्य खिम साहनी, ढोरपाटन नगरपालिकाका न्यायिक समिति सदस्य तोमलाल घर्ती, गुल्मीको मालिका गाउँपालिकाका कर्मचारी पुनराम घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता, उपाध्यक्ष भिमसेन वनको स्वागत र गाउँपालिकाका कर्मचारी कमल शर्माको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अधिवक्ता संजिव श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।
न्यायिक समितिले दिने न्यायिक सेवा, नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको रक्षाका लागि अति महत्त्वपूर्ण भएकोले यसले नागरिकको अधिकारमा आघात नपर्ने गरि छिटोछरितो रूपमा स्थानीय स्तरमा नै पहुँच स्थापित गर्न असल अभ्यास आदानप्रदान कार्यक्रम गरिएको गाँउपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।
न्यायिक समितिलाई बलियो बनाउन आवश्यक रहेको भन्दै पालिका अध्यक्ष र उपाध्यक्षको सम्वन्ध नङ र मासुको जस्तै हुन आवश्यक रहेको बताउनु भयो ।














































































































































































































