बागलुङ । बागलुङमा नगर बाल भेला, बाल संजाल गठन तथा जेष्ठ नागरिकसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८१ र ०८२ को पुष मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको नगरपालिकाले भेला, बाल संजाल गठन तथा जेष्ठ नागरिकसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरेको हो ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बालबालिकाको समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधाहरुमा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने बताउनु भयो ।
श्रेष्ठले बालमैत्री नगर बनाउँदा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवालहरुलाई प्राथमिकता दिने, नगरमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालसहभागिता बढाउने, सबै भौतिक पूर्वाधारणहरु बालमैत्री बनाउने, बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मुलन हुने बताउनु भयो।
बालमैत्री नगरपालिका घोषणा गर्नको लागि ५१ वटा सूचक पुरा गर्नुपर्ने भएकाले सवै क्षेत्रले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक संघ बागलुङका जिल्ला संयोजक चिरञ्जीवि श्रेष्ठ, देवबहादुर श्रेष्ठ, दुर्गाबहादुर आचार्य, काजि गाउँले श्रेष्ठले अहिलेको नयाँ पुस्ताले जेष्ठ नागरिकको अनुभव र अभ्यासबाट सिक्न र विज्ञान र प्रविधिको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
आफूहरु पाटीमा खरिले लेखेर आफनो शैक्षिक जिवन सुरुवात गरेको स्मरण गर्दे अहिलेको पुस्ता डिजिडल स्मार्ट बोर्डको सहायताले अध्ययन गर्न पाउने भएकोले प्रविधिको सहि सदुपयोग गर्न सके अहिलेको पुस्ताले ठूलो परिवर्तन गर्ने समथ्य राख्न सक्ने बताउनु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बालबालिका कुपोषणबाट मुक्त हुनुपर्ने, गर्भवती महिलाले सबै खोपहरु लगाउनुपर्ने, गर्भवती अवस्थामा ८ पटक स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी भएपछि शिशुसहित आमाले ४ पटक स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्नुपर्ने, २० वर्षपुगेपछि मात्र विवाह गर्नुपर्ने लगायतका विषयमा सचेतना अभियान चलाइएको बताउनु भयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले नगरपालिकाले अभियानका स–साना सूचकहरु पुरा गरिसकेको र पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने पुरा भएको जानकरी दिनुभयो । कार्यक्रम नगरस्तरिय बाल संजालका सदस्य विवेक कँडेलको अध्यक्षता, कार्यपालिका सदस्य ज्योति केसी विष्टको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।
नगर बाल भेलाबाट अनुसा कँडेको अध्यक्षमा २५ सदस्यीय नगर स्तरीय बाल संजाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा सिद्धार्थ ठकुरी, सचिव अनुज्ञा कँडेल, सहसचिव सिमरन खड्का र कोषाध्यक्षमा सुमित्रा गन्र्धव रहनु भएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका रचना आचार्यले जानकारी दिनु भयो ।


































































































































































































