काठमाडौं । सौर्य एयरको ९ एन एएमई जहाज काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा बुधबार बिहान ११ः११ मा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । घटनास्थलबाट सङ्कलन गरिएका शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ ।
विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा लागि उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको थियो ।
जहाजमा २ जना चालक दलसहित १९ जना थिए । जहाजमा चालकदलबाहेक १७ जना व्यवस्थापनका कर्मचारी थिए भने एक जना अरेफ रेडा नामका कर्मचारी भने विदेशी हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा कर्मचारी रहेका थिए।













































































































































































































