बागलुङ । अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई नन्दप्रसाद–नन्दकली उपाध्याय आचार्य स्मृति अक्षयकोष कोष र झरना केसी गुडिया स्मृति बाल कोषबाट शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो ।
शनिबार विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।
एक वर्षका लागि सबै विद्यार्थीलाई पुग्नेगरी कोषले पोशाकसहित शैक्षिक सामग्री सहयोग गरेको कोषका संरक्षक यज्ञवल्लव शर्माले बताए । यो कोष २०६४ सालमा स्थापना भएको थियो।
२ लाख २८ हजार रुपैयाँको अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने व्याजबाट विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग गर्दै आएको छ ।

त्यस्तै विद्यालयमा स्थापना भएको झरना केसी गुडिया स्मृति बाल कोषबाट नगद सहयोग गरिएको छ । कोषमा रहेको १९ हजार रुपैयाँको वार्षिक व्याज रकमबाट प्रत्येक विद्यार्थीका लागि १ सय ५० रुपैयाँका दरले नगद सहयोग गरिएको विद्यालयले जनाएको छ । उक्त कोष समाजसेवी तथा विद्यालय व्यवस्थापन समितीका सदस्य बुद्धिबहादुर केसीले स्थापना गर्नुभएको हो ।
शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यालय बालमैत्री हुनुपर्नेमा जोड दिए ।
सबै सामुदायिक विद्यालय बालमैत्री बन्दा बालबालिकाको सिकाईमा प्रभाव पर्ने बताए । शैक्षिक अवस्था सुधार्न पूर्वाधारको विकाससँगै समुदायको सक्रिय सहभागिता आवश्यकता रहेको उनको भनाई थियो ।
बागलुङ नगरपालिका ४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले समुदायले स्थापना गरेको विद्यालय जोगाउने जिम्मा समुदायकै भएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमारी शर्मा र समाजसेवी लालचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका संरक्षक शिवराम शर्मा आचार्यको अध्यक्षता, कोषका संरक्षण यज्ञ वल्लव शर्माको स्वागत र शिक्षक उमाकान्त शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















































































































































































































