बागलुङ । अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई विद्यामन्दिर माध्यमिक विद्यालयले स्वागत तथा सम्मान गरेको छ ।
अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली विश्वकर्मालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले टिका लगाएर र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा विश्वकर्माले विद्यार्थीलाई आफनो अन्टार्कटिकाको साहासिक यात्रा अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्माको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, विद्यालयका प्रधानाध्यपक छवि रमण रेग्मीको स्वागत र विहानी ईन्चार्ज कुलराज शर्मा र विज्ञान ईन्चार्ज कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रूपमा त्यहाँ पुग्नुभएको थियो ।
प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित विश्वकर्माको नाम गिनिजबुकमा समेत उल्लेख छ । उहाँ अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ ।
उहाँका नाममा बुटवल उपहानगरले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ ।
विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वकर्मालाई सम्मान गर्नुभएको थियो ।





















































































































































































































