८ कार्तिक २०८३, शनिबार

 

नृत्य प्रतियोगितामा अमर आदर्श प्रथम, न्यू ओयसिस द्धितीय र युएस एकेडेमि तृतीय

बागलुङ । युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको चौथो दिन विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न खेलकुद, सांस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताह २०२४ को चौथो दिन बागलुङ नगरपालिका र सामाजिक विकास कार्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

भदौ २९ गतेको बाल दिवसको सन्दर्भमा बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ विद्यालय स्तरीय १० औ नृत्य प्रतियोगिता गरिएको सप्ताहका मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै उहाँले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताले महत्वपूण सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्तीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

८ विद्यालयको सहभागिता रहेको प्रतियोगिताबाट अमर आदर्श आवसिय मावि प्रथम, न्यू ओयसिस एकेडेमि द्धितीय र युएस एकेडेमि तृतीय भएका छन् ।

विजयी विद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक अन्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

भदौ ३१ गतेसम्म संचालन हुने सप्ताह अन्तरगतको पाँचौ दिन २९ गते शनिवार स्थापना दिवससँगै विगतसँग वर्तमान कार्यक्रमको आयोजना गरिएको मुल संयोजक कँडेलले जानकारी दिनुभयो ।

 

खबरवेबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung