बागलुङ । बागलुङ जिल्लाको सबैभन्दा विकट गाउँ निसेलढोर पुग्दा संझना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो ।
उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनभयो ।
उहाँको पढ्ने रहन नभएर हैन गाउँमा विद्यालय नभएपछि टाढा गएर पढ्न सक्ने वातावरण नभएपछि पढाई छोडेर बिहे गर्नुभयो हो ।
निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिवि र बालबिबाह व्याप्त छ । त्यसैको चेपुमा संझना जस्ता धेरै नारिहरु परेका छन् ।
निसेलढोरमा जम्मा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यमिक शिक्षा अध्ययनका लागि घरबाट जान संभव नभएपछि पढाई छोडेको विश्वकर्माले दुखेसो गर्नुभयो ।
“१९ वर्षकी भए, पढाईको महत्व अहिले बुझ्दै छु, घरबाट पाँच घण्टाको पैदलमा मात्रै माध्यामिक विद्यालय छ, पढ्न जान संभव भएन, आर्थिक क्षमता भए कोठा खोजेर बस्ने हो सानै उमेरमा एक्लै बस्न सक्ने कुरा भएन, यहाँ म मात्रै हैन विद्यालय नहुँदा धेरैले पाँच पास मात्रै गरेरपछि पढाइ छोडेका छन्” उहाँले भन्नुभयो “घुम्ती बसाई गर्नेहरुले बेसी झरेर पढ्ने गरेपनि स्थायी बसोबास भएका घरका बालबालिकाले पाँच कक्षासम्म मात्रै अध्ययन गर्ने अवस्था छ भने कतिपय विद्यालको पहुँचमै पुगेका हुँदैनन् ।”
विद्युत नपुगेको र गरिविका कारण सोलार समेत नहुँदा निसेलढोर गाउँ अझै अन्धकार छ ।
एक वर्ष अघि मात्रै नेपाल टेलिकमले मोवाई टावर राखेपनि मोवाई चार्ज गर्न समस्या भएपछि सञ्चारको पहुँचमा समेत समस्या छ ।
निसेलढोरमा ५५ घर स्थायी छन् भने १५० घरमा घुम्ती बसाई हुन्छ ।
घुम्ती बसाई अन्र्तगतका बालबालिकाले निसीखोलाको बेसीका सुविधा सम्पन्न भवन भएका विद्यालयहरुमा अध्ययन गर्ने भएपनि निसेलढोरमै रहेका बालबालिकाहरु कक्षा पाँचसम्म मात्रै अध्ययन गरेर पढाइ छाड्ने गरेका छन् ।
निसेलढोरकै १९ वर्षीया खिमा विक विद्यालयनै जान नपाएको बताउनुहुन्छ । उहाँले अन्यत्रको भन्दा निसेलढोरको अवस्था निकै चिन्ताजनक रहेको सुनाउनुभयो ।



















































































































































































































