बागलुङ । बागलुङ नगरपालिका -८ सिगानालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ ।
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा-८ सिगानालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री चम्पा देवी खड्काले अवको ध्यान सामाजिक विकासमा जानुपर्ने बताउनुभएको छ ।
उहाँले नेपालको शिक्षा बालमैत्री र गुणस्तरीय हुनुको साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका २ का वडा अध्यक्ष सुरज बोसेल, विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापा, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’, शिक्षक भद्रबहादुर कार्की, सम्मानित व्यक्ति डा धनबहादुर खड्का, वडा बाल सञ्जालका अध्यक्ष सिजन ओली लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सिगानामा जन्मिएर डाक्टर, इन्जिनियर, कलाकार, पत्रकार, प्राध्यापक भएकाहरुलाई सम्मान पनि गरिएको थियो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष छमबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
घोषणा स्थानीयवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागितामा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष छमबहादुर कार्कीको अध्यक्षता, वडा सदस्य वेदबहादुर क्षत्रीको स्वागत र शिक्षासेवी गोपालकुमार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।


















































































































































































































