१८ कार्तिक २०८३, मंगलवार

 

प्रेस चौतारी पत्रकारिता पुरस्कार आचार्य र गौतमलाई

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई कृयाशिल पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत हुने भएका हुन् ।

उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आइएको छ ।

यस्तै गत वर्षबाट प्रदान गरिदै आएको प्रेस चौतारी युवा कृयाशिल पत्रकारितका पुरस्कार यस वर्ष आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई प्रदान गरिने भएको छ । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राष्ट्रिय समाचार समितिमा समेत आबद्ध रहेका छन् ।

सोमबार बसेको प्रेस चौतारी जिल्ला कमिटि बागलुङको बैठकले छनोट समितिको सिफारीसका आधारमा आचार्य र गौतमलाई पुरस्कृत गर्ने निर्णय गरेको जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।

जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको कृयाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक वर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।

यसअघि उक्त पुरस्कार कोषबाट नौ जना पत्रकार पुरस्कृत भैसकेका छन् ।त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कार गौतमलाई प्रदान गर्न लागिएको हो । युवा कृयाशिल पत्रकारिता पुरस्कार गत वर्ष तारानाथ आचार्यलाई प्रदान गरिएको थियो ।

यस वर्ष क्रियाशिल पत्रकारितका पुरस्कार छनौटमा समितिमा पूर्वकेन्द्रिय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष सृजना पन्त रहनुभएको थियो ।

यस्तै युवा क्रियाशिल पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस चौतारी गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा पूर्वजिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष सिर्जना पन्त रहनुभएको थियो ।

प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलाता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा कृयाशिल पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक उमाकान्त शर्माले जानकारी दिनुभयो ।

समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।

दुवै पुरस्कारको राशी दश÷दशहजार रुपैयाँ रहेको अध्यक्ष सिर्जना पन्तले बताउनुभयो । प्रेस चौतारी नेपालको ८औँ अधिवेशन तथा २० औं वार्षिक साधारण सभाका अवसरमा मंगलबार पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung