बागलुङ । बागलुङ नगरपालिकाले आयोजना गरेको नगर स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले चुमेको छ ।
चिल्ड्रेन लाइफले सबैभन्दा बढी १५ स्वर्ण, २३ रजत, १९ कास्य पदक प्राप्त गरी शिल्ड जितेको हो ।
अमर आदर्श आवासीय विद्यालयले ११ स्वर्ण, ६ रजत, ११ कास्य पदक सहित दोश्रो स्थान हुन सफल भएको छ भने गणेश माध्यमिक विद्यालयले १० स्वर्ण २ रजत, ३ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ ।
कुल ५६ स्वर्ण र ५६ रजत पदकका लागि भएको खेलमा नगर भित्रका तीन दर्जन विद्यालयले भाग लिएका थिए ।
बिहीबार सम्पन्न विभिन्न विधाका खेल तर्फ चिल्ड्रेनले मार्सल आर्ट तर्फ सबैभन्दा धेरै पदक प्राप्त गरेको हो ।
त्यस्तै १ हजार ५ सय र ३ हजार मीटर दौड समेत यो पटक चिल्ड्रेन लाइफले जितेको छ । छोटो दुरीका दौडमा भने गणेश मावि अब्बल देखियो ।
एथ्लेटिक्स तर्फ गणेश मावि प्रथम, चिल्ड्रेन लाइफ द्वितिय, अमर आदर्श तृतीय हुन सफल भएको छ । मार्सल आर्ट तर्फ चिल्ड्रेन लाइफ प्रथम, अमर आदर्श द्वितिय, सनराइज आवासीय तृतीय हुन सफल भएको छ ।
भलिबल छात्र तर्फ विद्यामन्दिर मावि प्रथम, धौलागिरि विरेन्द्र मावि द्वितिय, चिल्ड्रेन लाइफ तृतीय हुन सफल भएको छ ।
भलिबल छात्रा तर्फ धौलागिरी विरेन्द्र मावि प्रथम, होलिचाइल्ड मावि द्वितिय, चिल्ड्रेन लाइफ तृतीय हुन सफल भएको छ ।
कबड्डी छात्र तर्फ कालिका कन्यामन्दिर मावि प्रथम, अमर आदर्श द्वितिय, युएस एकेडेमी तृतीय हुन सफल भएको छ ।
कबड्डी छात्रा तर्फ कालिका कन्यामन्दिर मावि प्रथम, विद्यामन्दिर मावि द्वितिय, चिल्ड्रेन लाइफ र आदर्श विद्यामन्दिर तृतीय हुन सफल भएको छ ।
विजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नगद, मेडल, ट्रफि र कदरपत्रले पुरस्कृत गर्नु भएको हो।















































































































































































































