१५ बैशाख २०८२, सोमबार

 

मेलमिलाप प्रकृयाका लागि बागलुङ नगरपालिकामा सरोकारवालाबिच अन्तरक्रिया

बागलुङ । बागलुङ नगरपालिकामा न्यायिक समिति र मेलमिलाप प्रकृयालाई ब्यवस्थित रुपमा संचालनका लागि पुर्नताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । सो कार्यक्रममा नगरभित्रका वडा अध्यक्षहरु, वडा सचिवहरु र मेलमिलापकर्ताहरु सहभागि रहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले न्यायिक समितिबाट आउने निवेदनलाई मेलमिलापकर्ताहरुले सवैभन्दा पहिला राम्रोसँग अध्ययन गरी कानुन र न्यायका सिद्धान्त अनुसार प्रकृयामा लैजान आग्रह गर्नु भयो ।

न्यायिक समिति र मेलमिलाप केन्द्रहरुले न्यायको अनुभूति नागरिकहरुलाई दिलाउने गरी काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले अदालतले पनि मेलमिलाप प्रकृयालाई महत्व दिने बताउदै मेलमिलाप गराउने प्रकृया कठिन भए पनि यसबाट निस्कने परिणाम भने दिगो रुपमा राम्रो रहेको बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले सहभागिहरुलाई सहजिकरण गर्दै कानुनको उद्धेश्य न्याय प्रदान गर्नु भएकोले कानुनी राज्यमा कानुन सवै नागरिकहरुले थाहा पाउने वातावरण बनाउनु पर्ने बताउनु भयो ।

न्यायिक समितिले न्यायिक कामको लागि तोकिएका चरण पुरा गरी काम गर्नु पर्ने बताउदै औपचारिक तथा अनौपचारिक प्रकृयाबाट समितिले काम गर्न सक्ने बताउनु भयो ।

ज्ञान, शिप, कला मेलमिलापकर्ताहरुका लागि आवश्यक रहेको बताउदै आचार्यले मेलमिलाप गर्दा कार्यान्वयन योग्य सहमति जुटाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक राजु खड्काले न्यायिक समिति र मेलमिलाप केन्द्रको भूमिका र जिम्मेवारीलाई विधि संवत तथा विश्वास योग्य बनाउन आवश्यक प्रकृया अबलम्बनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

न्यायिक समितिको क्षेत्राधिकार, निवेदन लेखनदेखि निर्णय कार्यान्वयनसम्मको प्रकृयासम्म एकरुपता जरुरी रहेको बताउदै समितिका धेरै कार्यहरु वडा तहबाट सम्पन्न गर्नका लागि प्रयास भैरहेको बताउनु भयो ।

न्यायिक सचेतना अभिबृद्धि गरी सवै पक्षहरुको सहयोग र सहभागिताबाट समाजमा मेलमिलापलाई सस्थागत र पद्धतिमा संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतमले सहभागिलाई स्वागत गर्दै कार्यक्रम आयोजनाको उद्धेश्यबारे प्रकाश पार्नु भएको थियो । न्यायिक समितिका कानुनी सहजकर्ता ज्ञानेन्द्रराज पन्तले जिम्मेवारी सम्पादनका लागि सबैसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung