बागलुङ । बागलुङदेखि चितवनको सौराहासम्म विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा आएको छ ।
धौलागिरि गण्डकी यातायात सेवा प्रालिले शुक्रबारबाट माइक्रो बस सञ्चालन गरेको हो ।हरेक दिन विहान १०:३० बजेदेखि माइक्रो बस धौलागिरि गण्डकी यातायातको पुरानो बस पार्कमा रहेको टिकट काउण्टर भएको स्थानबाट चितवनको पर्यटकीय शहर सौरहाको लागि छुट्ने छ ।
यस सेवाको आज बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक दिलबहादुर रायमाझी र बागलुङ नगरपालिका-२ का वडा सुरज बोसलले सुभारम्भ गरेका थिए ।
कार्यक्रम धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीको अध्यक्षता र धौलागिरि गण्डकी यातायात सेवा प्रालि प्रबन्ध निर्देशक राजन जोशीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सीसीटीभी जडित गाडीमा यात्रुले वाईफाई, क्यूआरबाट भुक्तानी लगायतका सुविधा पाउनेछन् ।
सञ्चालनमा आएका माइक्रो बसहरू सरकारको नीति तथा अवधारणा अनुसार पुराना डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने नीति अन्तर्गत पर्छ ।
















































































































































































































