४ श्रावण २०८३, सोमबार

 

तेस्रो बागलुङ जेसीज कप फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २ लाख

बागलुङ । आइतबारदेखि बागलुङमा तेस्रो जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक बागलुङ जेसीजले जनाएको छ ।

युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय रहेको बागलुङ जेसीजले विभिन्न युवा केन्द्रीत तथा समाज रुपमान्तरणका कार्य गर्दै आएको छ ।

सोही अनुसार पछिल्लो समयमा युवाहरुकै आर्कषणको रुपमा रहेको फुटबल खेललाई प्रवद्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन १८ गतेदेखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितालाई फरक सन्देश दिने उद्देश्यका साथ वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले फुटबललाई वातावरण संरक्षणको विषयसँग जोड्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । ‘एक गोल, एक वृक्ष, एक खेलाडी एक वृक्ष र एक सदस्य एक वृक्ष अभियान संचालन गरिने भएको छ ।

प्रतियोगितामा करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।

सेमिफाईनलमा पुग्ने टिमलाई नगर १५ र १५ हजार रुपैयाँ, फियर प्ले टिमलाई ५ हजार रुपैयाँ र ट्रफि उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र मेन अफ दि म्याचलाई नगद पुरस्कार र ट्रफिको व्यवस्था गरेको बागलुङ जेसीजका महासचिव सुलभ खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको क्रममा हुने सक्ने सम्भावित दुर्घटनालाई मध्यनगर गरी नेको इन्स्युरेन्सले खेलाडीको १ लाख बराबरको विमा गरिदिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट बचेको रकमबाट वातवरण संरक्षण कार्यमा लगानी गर्ने बागलुङ जेसीजले प्रतिवद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले युवाहरुको आर्कषणको रुपमा रहेको फुटबल खेललाई बागलुङ जेसीजले निरन्तरता दिएको बताउनुभयो । बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, महासचिव सुलभ खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung