बागलुङ । बागलुङ नगरपालिका-४ ओडारचौरस्थित श्री देउराली आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विष्णु कुमारी शर्मा सर्वसम्मत अध्यक्ष चयन भएकी छिन् ।
शुक्रबार भएको अभिभावक भेलाले शर्माको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी आचार्यले नयाँविश्वलाई बताइन् ।
समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक आचार्य र सदस्यहरुमा वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, सोभिता शर्मा, हेमलाल पौडेल, सीता केसी, मेघराज गोतामे, लक्ष्मी शर्मा र शिक्षक उमाकान्त शर्मा रहेका छन् ।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर बढाउने र बालबालिकालाई सामुदायिक विद्यालयमा टिकाउने वातावरण बनाउन विद्यालय प्रशासन र व्यवस्थापन समितिले समुदाय र सरोकारवालाहरुसँग मिलेर काम गरि रहेको छ ।
२०५१ सालमा स्थापना भएको विद्यालयको भवन २०७२ को भुकम्पपछि चर्केको र पुरानो भएपछि राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत दुई वर्षअघि ५० लाख बजेटमा नयाँ भवन निर्माण गरिएको थियो ।
विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि विभिन्न सहयोग आउने क्रम जारी रहेको छ ।



















































































































































































































