१५ बैशाख २०८२, सोमबार

 

रोटरी क्लब र रोट्रयाक्ट क्लबको निःशुल्क आँखा शिविर : बागलुङका दुई सय ९५ जना लाभान्वित

बागलुङ ।बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पतालमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

आइतबार सम्पन्न शिविरमा दुई सय ९५ जना लाभान्वित भएका हुन् ।रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ ज्ञानेश्वर र रोट्रयाक्ट क्लब अफ बागलुङको संयुक्त आयोजना र धौलागिरि प्रादेशिक अस्पताल, नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिनको निःशुल्क आँखा र दन्त शिविर सञ्चालन सम्पन्न भएको हो ।

शिविरमा गरिएको स्क्रिनिङमा दृष्टिसम्बन्धी समस्या, मोतिबिन्दु, रेटिनासम्बन्धी समस्या देखिएको डा. सुहाना श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

आँखा संम्बन्धी गम्भीर प्रकृतिका ९ जना विरामीहरुको  शल्यक्रिया गर्नुपर्ने देखिएको नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पताल अध्यक्ष विन्दु सागर राजभण्डारीले जानकारी दिनुभयो ।

शिविरमा धौलागिरि अस्पतालका डा. सुहाना श्रेष्ठ, नेत्र सहायक कविता भण्डारी, नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पताल नेत्र सहायकहरु सविना पराजुली, प्रियंका खनाल, प्राविधिक ज्योति पराजुली रहेका थिए ।

त्यस्तै, आँखाको दृष्टिसम्बन्धी समस्या भएकालाई चस्मा प्रदान गरिएको र आँखा जाँच गराएकामध्येलाई आवश्यकताका आधारमा निःशुल्क औषधि वितरण गरिएको रोटरी क्लब अफ बागलुङका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविरका संयोजक शिव केसीले जानकारी दिनुभयो ।

शिविरमा पहिचान भएका मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने नेपाल नेत्र ज्योति संघ धौलागिरि आँखा अस्पतालका सचिव युक्त जंग राजभण्डारीले बताउनुभयो ।

रोटरी क्लबले भविष्यमा पनि आवश्यकता अनुसार विभिन्न रोगका स्वास्थ्य शिविर आयोजना गर्ने रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिइन् ।

शिविर सम्पन्न गर्नको लागि बागलुङ नगरपालिका, सालिमार ज्वेलर्स विशाल बजार र लाएक्रा बुटिक कुपुण्डोल ललितपुरले आर्थिक सहयोग  गरेको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung