
बागलुङ । ‘वीरशाली पन्त गौरवमय पुरस्कार’बाट प्रा डा दिनबहादुर थापा सम्मानित हुनुभएको छ ।बागलुङ नगरपालिकाद्वारा विसं २०७७ मा स्थापित वीरशाली पन्त स्मृति कोषले शुक्रबार एक कार्यक्रमको आयोजना गरी धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापालाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो
। थापालाई कोषका अध्यक्ष साहित्यकार प्रेम छोटा र नगरप्रमुख बसन्त कुमार श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो।पुरस्कृत प्रा.डा. थापाका भाषा, साहित्य, संस्कृतिका विषयका कृति प्रकाशित छन् ।
तत्कालीन पर्वत राज्य कालमा मुलपानीको ढिकीचौर गाउँमा जन्मनु भएका साहित्यकार पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।पर्वत राज्यको राजा किर्तिबम मल्लको शासन कालमा उहाँ पर्वत राज्यको विद्धान हुनुहुन्थ्यो।
प्राथमिक कालपछिको भक्तिकालका पन्त कृष्णभक्त हुनुहुन्थ्यो । उहाँले कृष्ण चरित्र, विमला वोध कृति लेख्नुभएको छ। उहाँले भारतको वृन्दावनमा बाँकी जीवन बिताउनुभएको थियो ।विसं १८७० देखि १९४३ सम्म भक्ति साहित्य काल थियो ।
त्यसताका पन्तका साथै नारायण र लक्ष्मी नारायण विद्धानहरु पनि चर्चित थिए । सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले साहित्यकार वीरशाली पन्तले बागलुङमा जन्मेर भाषा, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।
श्रेष्ठले कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले सक्दो सहयोग गर्दै जाने बताउनुभयो ।कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. दिनबहादुर थापा, वीरशाली पन्त स्मृति कोषका कोषाध्यक्ष गोविन्द राज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम वीरशाली पन्त स्मृति कोषका अध्यक्ष साहित्यकार प्रेम छोटाको अध्यक्षता, कोषका उपाध्यक्ष महेशचन्द्र प्रधानको स्वागत मन्तव्य र सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।
कला, साहित्य र संकृतिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई पुरस्कृत गर्न उद्देश्यले बागलुङ नगरपालिकाले साहित्यकार पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगर कार्यपालिको बैठकले स्मृति कोष स्थापना गरेको थियो