गलकोट । यहाँको गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले निशुल्क जग्गा दान गरेका छन् ।
गलकोट नगरपालिका ७ मल्म हाल सुनवल नगरपालिका-१ निवासी समाजसेवी दुर्गाबहादुर र उहाँकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्णबहादुर थापा र उहाँकी धर्मपत्नी थुमा थापाले ५ आना जग्गा सातसय बगाले थापा समाजलाई प्रदान गर्नुभएको संस्थाका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिनुभयो ।
जग्गा प्राप्ति सँगै अब सामाजिक घर निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक तयारी गरिने अध्यक्ष थापाले बताउनु भयो । दान गरिएको जग्गाको हालको मूल्य झण्डै ३० लाख रुपैयाँ रहेको छ ।
गलकोट नगरपालिका-७ मल्ममा बगाले थापाहरुको कुलपूजा हुँदा बाहिरबाट आउने बन्धुबान्धव र अन्य समयमा गाउँमा आउने पर्यटक सँगै पाहुनाहरुको सहज आवासको निमित्त समाज घर निर्माणको योजना तय भएको संस्थाका महासचिव थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
मालपोत कार्यालय बागलुङ मार्फत जग्गादाताले संस्थाको नाममा रजिष्ट्रेशन पास गरि संस्थाका अध्यक्ष छुमबहादुर थापालाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेको सचिव सुवेदार मिन बहादुर थापाले बताउनुभयो ।







































































































































































































