अमेरिकालाई त्यतिञ्जेल थाहा थिएन, तर शीतयुद्ध जित्ने हतियार १९५० मा उहीसँग थियो। ती हतियार थिए, छ्यान स्युसेन। प्रतिभाशाली चिनियाँ रकेट वैज्ञानिक, जसले एरोस्पेस र हतियारको क्षेत्रलाई त्यतिबेलै बदलिसकेका थिए।
छात्रवृत्तिमा पढ्न अमेरिका आएका उनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी र एमआईटीमा जेट प्रोपल्सनको अप्ठेरो सल्ट्याउन सघाएका थिए। साथै अमेरिकाको पहिलो गाइडेड ब्यालिस्टिक मिसाइल पनि विकास गरेका थिए।
उनलाई अमेरिकी वायु सेनाको कर्णेल पद दिइएको थियो र पहिलो आणविक हतियार बनाउने अति गोप्य म्यानहटन प्रोजेक्टमा पनि उनले काम गरेका थिए। विश्वयुद्धपछि जर्मनीमा नाजी वैज्ञानिकहरूलाई सोधपुछ गर्न पनि उनलाई पठाइएको थियो। डा। छ्यान चाहन्थे– अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति अमेरिकी होस्। र, त्यसका लागि रकेट डिजाइन गरिरहेका थिए।
तर, उनलाई रोकियो। करिअरको उच्चतम विन्दुमा रहेकै बेला एकदिन उनको घरको ढोका ढक्ढक्याइयो। पत्नी र सानो छोराको सामुन्ने उनलाई हत्कडी लगाइयो। अन्ततः उनलाई देशद्रोह र जासुसीको आरोपबाट सफाइ त दिइयो तर अमेरिकाले उनलाई डिपोर्ट गरिछाड्यो। १९५५ मा करिब एक दर्जन अमेरिकी युद्धबन्दीसँग साटेर उनलाई कम्युनिस्ट चीन पठाइयो।
त्यो एउटै निर्वासनको आश्चर्यजनक परिणाम देखियो। डा छ्यानले चीन फर्किएलगत्तै माओ चेतुङलाई आधुनिक हतियार निर्माणको काममा आफूलाई लगाइदिन राजी गराए। पाँच वर्षपछि नै चीनले आफ्नो पहिलो क्षेप्यास्त्र परीक्षण गर्यो। चीनले १९८० सम्ममा क्यालिफोर्नियादेखि मस्कोसम्म सजिलै क्षेप्यास्त्र हान्न सक्ने भयो। डा छ्यानलाई चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता भन्ने गरिन्छ। वास्तवमा उनले एउटा यस्तो प्रविधि क्रान्तिको सुरुवात गरेका थिए, जसले चीनलाई महाशक्ति बनाइदियो।
ट्रम्प प्रशासनले निर्दयी तरिकाले विदेशी विद्यार्थी र अध्येताहरूलाई निसाना बनाइरहँदा मेरो दिमागमा उनकै कथा नाचिरहेको थियो। उनको जीवनीसम्बन्धी पुस्तकमा म कयौँ वर्षदेखि काम गरिरहेकी छु। बुधबार विदेशमन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक रूपमा रद्द गर्ने’ घोषणा गरेका छन्। जसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग नाता रहेका वा ‘महत्त्वपूर्ण क्षेत्रमा’ काम गरिरहेका विद्यार्थीहरू पर्दछन्।
अमेरिकामा करिब १० लाख विदेशी विद्यार्थी छन्। जसमध्ये अढाई लाखभन्दा बढी चिनियाँ हुन्। यहाँनेर डा छ्यानको निकालाबाट अमेरिकाले आवश्यक पाठ सिक्नुपर्ने हो। आखिर त्यो जातीय घृणाबाट प्रेरित अमेरिकाको गल्ती साबित भयो र त्यसले अन्ततः विश्वको शक्ति सन्तुलनलाई नै सदाका लागि बदलिदियो।
अहिलेको स्थितिजस्तै उतिबेला अमेरिकामा एउटा बौलठ्ठीपन छाएको थियो। जसको केन्द्रमा थिए सिनेटर जोसेफ म्याकार्थी। उनले सरकार, सेना, कला, विज्ञानलगायत क्षेत्रका व्यक्तिहरूमाथि कम्युनिस्ट भएको आरोप लगाउँदै सर्वत्र त्रास फैलाएका थिए। सोही अभियानको निसाना बनेका थिए डा छ्यान। किनकि उनी चिनियाँ थिए। सेक्युरिटी क्लिअरेन्स खारेज गरेर उनलाई अपमानित तुल्याइयो।
तर, छ्यानलाई लखेट्दाको मूल्य अमेरिकाका लागि अत्यन्त महँगो साबित भयो। यसका कारण अमेरिका मानवसहितको अन्तरिक्ष यात्राको स्पर्धामा सोभियत संघसँग पराजित मात्र भएन, एसियामा अमेरिकी प्रभुत्वलाई चुनौती दिने आफूसँग नभएको स्रोत चीनले पायो। त्यो स्रोत थियो– वैज्ञानिक शक्ति।
बेइजिङको त्यो कमी त पूरा भयो नै, त्यसमाथि उनी फर्केपछि चीनमा वैज्ञानिक सफलताहरूको शृंखला नै सुरु भयो। छ्याङले जुन उपलब्धि हासिल गरे, त्यसबाट प्रशान्त क्षेत्रका आफ्ना सहयोगीहरूलाई बचाउन अमेरिकाले अहिले पनि अर्बौं डलर खर्च गरिरहेको छ।
डा छ्यानको निर्वासनबारे प्रश्न सोध्दा पूर्व अमेरिकी नेवी सेक्रेटरी ड्यान किम्बलले भनेका थिए, ‘यो देशले गरेको सबैभन्दा मूर्खतापूर्ण काम त्यही थियो।’
डा छ्यान २३ वर्षको उमेरमा अमेरिका आएका थिए। छात्रवृत्ति पाएर। अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानले अमेरिकी मूल्य र विश्व शान्तिलाई बढावा दिने सोचका साथ छात्रवृत्ति दिन सुरु गरिएको थियो।
बेइजिङमा रहेका अमेरिकी प्रतिनिधि एडमन्ड जेम्सले सो छात्रवृत्ति कोष स्थापना गरेका थिए, जसले छ्यान र अन्य चिनियाँ विद्यार्थीलाई अमेरिका पुर्याएको थियो।
जेम्सले राष्ट्रपति रुजबेल्टलाई लेखेका थिए, ‘जुन राष्ट्र वर्तमान पुस्ताका चिनियाँहरूलाई शिक्षित गर्न सफल हुन्छ, त्यही राष्ट्रले नैतिक, बौद्धिक र व्यापारिक प्रभावको सबैभन्दा ठूलो हिस्सा प्राप्त गर्नेछ।’ जेम्सकै कारण १९६० को दशकसम्ममा चीनका सबैभन्दा प्रमुख २ सय वैज्ञानिकमध्ये तीन चौथाइले अमेरिकामा प्रशिक्षण प्राप्त गरिसकेका थिए। जसमा भविष्यका नोबेल पुरस्कार विजेता पनि सामेल थिए।
क्यालिफोर्नियामा डा छ्यान अन्य होनाहार युवा वैज्ञानिकहरूको एउटा समूहमा सामेल भए। एकपटकको परीक्षणमा क्याम्पस ल्याबको छानै उडाएपछि त्यो समूहले आफूलाई ‘सुसाइड स्क्वाड’ नाम दिएको थियो। इन्जिनियरहरूको वार्षिक भेलामा सो स्क्वाडका दुई सदस्यले आफूहरूले पृथ्वीको सतहबाट सिधा माथि १ हजार माइलसम्म पुग्न सक्ने रकेट बनाएको घोषणा गरे। त्यसपछि उनीहरूको औपचारिक नाम रहन गयो– जेट प्रोपल्सन ल्याबरोटरी।
१९४९ मा डा छ्यान सो ल्याबरोटरीको नेतृत्वमा चुनिए। त्यतिबेलासम्म सो ल्याबरोटरी नासाको पूर्ववर्तीका रूपमा स्थापित भइसकेको थियो। छ्यान अमेरिकालाई अन्तरिक्ष प्रतिस्पर्धामा जिताउन त चाहन्थे नै, उनले एक घण्टाभन्दा कम समयमा रकेटमार्फत यात्रुलाई न्युयोर्कबाट लस एन्जलस पुर्याउने योजना पनि सार्वजनिक गरेका थिए।
के डा छ्यान जासुस थिएरु के उनी कम्युनिस्ट थिएरु यी आरोपको कुनै भरपर्दो प्रमाण थिएन। अमेरिकी सरकारलाई प्रमाणको कुनै चासो भएजस्तो पनि लाग्दैन। किनकि डा छ्यानसँग म्यानहटन प्रोजेक्टमा काम गरेका जे रोबर्ट ओपनहाइमरसहित शीर्ष अमेरिकी रक्षा अधिकारीहरूको विरोधलाई समेत बेवास्ता गरियो। पाँच वर्ष घरमै नजरबन्दमा बसिसकेपछि डा छ्यानले अमेरिकाबाट निस्किन चीन सरकारसँग सहयोग भिख माग्न थालेका थिए।
अहिले सार्वजनिक भएका अमेरिकी विदेश मन्त्रालयका दस्तावेजहरूले के बताउँछन् भने डा छ्यान आइजनहावर प्रशासनको नजरमा एकदमै सस्तो मोहरा बनिसकेका थिए। त्यसैले उनलाई अमेरिकी सैनिकहरूसँग साटियो।
सो सौदाको विषयमा विजयी मुद्रामा बोल्दै चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले भनेका थिए, ‘हामीले छ्यान स्युसेनलाई जितेर फिर्ता ल्यायौँ। यसले नै वार्तालाई सार्थक बनाइदियो।’
त्यसपछि छ्यान कहिल्यै अमेरिका फर्केनन्। उनले बाँकी जीवन चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिष्ठित नेताका रूपमा बिताए। आज पनि उनलाई राष्ट्रिय नायकका रूपमा हेरिन्छ। उनको उपलब्धिको सम्मानमा संग्रहालय बनाइएको छ। पछिल्ला वर्षहरूमा उनका अधिकांश टिप्पणी या त प्राविधिक विषयमा छ, या अमेरिकाविरुद्ध पार्टीको प्रचारबाजी।
तथापि, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका एक पूर्वसहकर्मीले १९६६ मा एउटा पोस्टकार्ड प्राप्त गरे। चीनबाट आएको र फूलका चित्रहरूले रंगिएको सो पोस्टकार्डमा डा। छ्यानले लेखेका थिए, ‘यो त्यस्तो फूल हो, जुन प्रतिकूलतामा फुल्छ।’
विदेशमन्त्री रुबियोको घोषणाले अमेरिकी विश्वविद्यालयका विदेशी विद्यार्थीमाझ चिन्ता बढाएको छ। स्कुल, ल्याब, आदिले थप अवरोधका लागि आफूलाई तयार पारिरहेका छन्। तर, एउटा ठूलो कुरा हराएको छ– कुनै समय अमेरिका विश्वभरका जेहेनदारहरूलाई पढाउनु भनेको आफ्नो राष्ट्रलाई अझ बलियो बनाउने एउटा तरिका हो भन्ने ठान्थ्यो। सबैभन्दा उत्कृष्ट विचारक, वैज्ञानिक र नेताहरू अमेरिकामा पढ्न चाहन्थे, अमेरिकी लोकतन्त्र र संस्कृतिमा घुलमिल हुन चाहन्थे। यो रणनीतिक लाभ थियो।
त्यो लाभलाई गुमाउँदाको जोखिम र विश्वका प्रतिभाहरूलाई स्वागत गर्नुको सट्टा लखेट्दाको नकारात्मक परिणाम चीनका लागि डा छ्यानले हासिल गरेको उपलब्धिले प्रस्ट पार्छ। कुनै दिन त्यो हामीविरुद्ध प्रयोग हुने सम्भावना हमेसा रहन्छ।
(द न्युयोर्क टाइम्सबाट) नेपालखबरबाट













































































































































































































