बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ६ को भल्कोटमा सम्पन्न गरेको छ ।
निसीखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रा.लि.को सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले जनप्रतिनिधि र कर्मचारीलाई पालिकाको विकास निर्माण र सुशासनमा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय जीवन पुन मगरले चालु आर्थिक वर्ष २०८१/०८२ को हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पालिकाले ल्याएका जम्मा २१८ योजना मध्ये ११३ योजना फरफारक भइसकेको बताउदै ५८ योजना भुक्तानीको चरणमा पुगेका पुन मगरले जानकारी दिनुभयो ।
उहाँले निसीखोलाको बायखोला झिम्पा सडक, भिरकुना प्यूठान सडक र घङ्ग्रेनी खाडु सडक ठेक्का मार्फत स्तरोन्नती गरिएको बताउनुभयो । उहाँले लक्ष्य भन्दा बढी ५३ लाख राजश्व संकलन गरेको बताउदै वेरुजु घटाएर १३ करोडमा झारेको जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताको विभिन्न विषयमा प्रश्नहरु गरेका थिए भने केही महत्वपूर्ण सुझावहरु समेत दिएका छन् ।
उनिहरुले विकास निर्माणमा समानता नभएको, आफ्नालाई मात्रै योजना दिएको योजनाको प्राथमिकरण नगरेको, शिक्षामा सुधार नभएको लगायतका प्रश्न राखेका थिए । हुल्दीको पहिरोको समस्या, गाउँपालिका नजिक बैंक नभएको, व्यवसाय स्थापित नभएको, भाँगो र रेसा उत्पादनको कार्यक्रम सम्पन्न नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा स्थानीय भोटु कुमारी चन्द, नेकपा एमाले निसीखोला गाउँ कमिटी अध्यक्ष भूमिराज घर्ती मगर, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रुद्र प्रसाद पौडेल, राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ कमिटी अध्यक्ष थम्मन घर्ती मगर, थम बहादुर घर्ती, लिला बुढा मगर, भान सिंह बुढामगर, भिम घर्ती, सन्तोष रेग्मी, जुन विक्रम शाही, निरन चन्द, राजमान बुढा र दिपक बहादुर चन्द लगायतले विभिन्न विषयमा प्रश्नहरु गर्नुभएको थियो भने निसीखोला गाउँपालिकामा सुशासन कायम गर्न विभिन्न सुझाबहरु समेत पेश गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकर्ता नागरिकहरुले सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, मोटरबाटो, झोलुङ्गे पुल, विकास निर्माण तथा योजना, राजश्व तथा कर असुली, कर्मचारी व्यवस्थापन, नागरिकको सेवा प्रवाह लगायतका विषयमा थप प्रश्नहरु गरेका थिए ।
प्रश्नकर्ताहरुले उठाएका विभिन्न प्रश्नहरुमाथि निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, विभिन्न वडाका वडाअध्यक्षहरु, पालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख लगायतले स्पष्ट रुपमा जवाफ दिनुभएको थियो ।
साथै उहाँहरुले समृद्ध निसीखोला गाउँपालिकाको लागि पालिकाको सिङ्गो टिम लागिरहेको र आम सचेत नागरिकको चासो, चिन्तन र सहयोगको पनि खाँचो रहेको बताउनु भएको थियो । सिमित स्रोतका बीच पालिकाले विकास निर्माणलाई गति दिएको अध्यक्ष सुयर्य बहादुर घर्तीले जानकारी दिनुभयो ।
घर्तीले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझे बलियो बनाउँन र नागरिको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आफूहरु निरन्तर लागिरहने भन्दै जनताको सुझावलाई कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा नागरिक दैनिकका पत्रकार संगम घर्ती मगरले नागरिक सन्तुष्टि फारम भरी नमूना सर्वेक्षणबाट प्राप्त पालिकाको अवस्था र सूचकहरुबारे प्रस्तुत गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले सार्वजनिक सुनुवाई कार्यक्रमको कानुनी पक्ष र आचारसंहिताबारे प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिकाका सुशासन समितिका संयोजनक सवराज छन्त्यालको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढामगरले गर्नुभएको थियो ।






























































































































































































