६ असार २०८२, शुक्रबार

 

बागलुङमा ट्राफिक सप्ताह सुरु, सडक दुर्घटनामा मृत्युदर रोक्न धेरै सुधार गर्न बाँकी (तस्वीर सहित)

बागलुङ । बागलुङमा आज देखि ट्राफिक सप्ताह शुरु भएको छ । जिम्मेवार चालक म जिम्मेवार यात्रु म सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी ‘ ट्राफिक सप्ताह २०८२ भन्ने मुल नाराका साथ आजदेखि सप्ताह सुरु भएको हो ।

सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ट्राफिक उल्लंघन गर्दा दुर्घटना बढेको बताउनुभयो ।

उहाँले आम नागरिकले ट्राफिक नियम पालना गरे दुर्घटना कम हुने र गाउँ तिरका सडकमा सवारीले नियम पालना नगरेको भन्दै चालकले सवारी चालक अनुमती पत्र बोक्न उहाँले सुझाब दिनुभयो ।

उहाँले दुर्घटना न्यूनीकरण गर्न र सडक दुर्घटनाबाट सर्वसाधारण नागरिकलाई बचाउन अझ धेरै सुधारका कार्यहरु गर्न बाँकी भएको बताउनुभयो । कार्यक्रम गर्न भन्दा नियमलाई कार्यान्वयन गर्न सुझाब दिनुभएको थियो ।

नागरिक र चालकले नियम पालना गरेमा मात्र सवारी दुर्घटना कम हुने र सवारी दुर्घटना बाजा नबजाई आउने भएकाले चालकले नियम पालना गर्नुपर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले सडक स्तरोन्नती नहुनु, सडक पक्कि नहुनु, सडक कच्चि हुँदा, तिव्र गतिमा सवारी चलाउँदा, ट्राफिक नियमको पालना नगर्दा, सवारी साधनहरु पुराना र जिर्ण अवस्थाको भएका कारण दुर्घटना बढेको बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम, सवारीमा पेपर पम्प्लेत टास कार्यक्रम, सवारी अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच अन्तक्रिया कार्यक्रम र दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ ।

कार्यक्रममा धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तिलक भारती,यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमा देवी शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक प्रहरी निरीक्षक मिलन चौधरीको स्वागत र इन्स्पेक्टर केसव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung