४ श्रावण २०८३, सोमबार

 

स्वच्छ र सरसफाइ वडा बनाउन गलकोट मल्ममा डस्टबिन वितरण

गलकोट । ‘मेरो आँगन, मेरो घर — सधैं राखौँ सफा सुग्घर’ भन्ने नारा सहित गलकोट नगरपालिका-७ मा ‘एक घर दुई डस्टबिन’ कार्यक्रम सञ्चालन गरिएको छ ।

खेलकुद युवा तथा सरसफाइ समिति मल्मको संयोजनमा सञ्चालित कार्यक्रममा मूलपानी आमा समूह र घुम्टे आमा समूहले आफ्ना समूहभित्रका सदस्यहरूलाई डस्टबिन वितरण गरेका छन् । मूलपानी आमा समूहले ३२ सेट र घुम्टे आमा समूहले ३० सेट गरी कुल ६२ सेट डस्टबिन वितरण गरेका हुन् ।

कार्यक्रममा गलकोट नगरपालिका-७ का वडा अध्यक्ष राज बहादुर थापाले प्लास्टिकजन्य फोहोर र कुहिने फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पर्यावरण रक्षा तथा वातावरणीय प्रदूषण न्यूनीकरणका लागि प्रत्येक घरमा डस्टबिन राख्नु अत्यावश्यक रहेको बताउनुभयो । साथै उहाँले सम्पूर्ण वडावासीलाई कडाइका साथ फोहोर व्यवस्थापनमा लाग्न आग्रह गर्नुभयो ।

सरसफाइ समितिका संयोजक जीवन साहानीले ५ सय घरमा डस्टबिन वितरण गर्ने योजना अन्तर्गत हालसम्मको काम सफलतापूर्वक सम्पन्न हुँदै गएको जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा ७ का अध्यक्ष दलबहादुर थापाले टोल सफाइ र व्यवस्थापनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रम मूलपानी आमा समूहकी अध्यक्ष थुमकली थापा र घुम्टे आमा समूहकी अध्यक्ष दुर्गा देवी बस्नेतको संयुक्त अध्यक्षता तथा खडक कालिका टोल विकास समितिका उपाध्यक्ष लोकबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

गलकोट नगरपालिका-७ मल्मका वडा अध्यक्ष राजबहादुर थापाको नेतृत्वमा पर्यावरण रक्षाको लागि जनचेतना अभियान सञ्चालन गर्नुका साथै वन जंगलको संरक्षण र त्यसमा समुदायको भूमिकालाई सुमुधुर बनाउन अभियानमा वडावासीलाई जोड्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung