बागलुङ । नेपाल भारत मैत्री संघ बागलुङ शाखाले मित्र राष्ट्र भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संघले बागलुङ नगरपालिका–१ मा रहेको रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
सन् १९४७ अगस्ट १५ मा करिब दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो । यसै अवसरमा हरेक वर्ष यो दिवस मनाईदै आएको हो ।
कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघ बागलुङ शाखाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य केवी राना मगरले नेपाल भारत मैत्री संघले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भारत हाम्रो मित्र राष्ट्र भएकोले सहयात्रा र सहकार्य निरन्तर रहने हुँदा यस्ता दिवसहरु नेपालमा पनि मनाईदै आईएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयमा बाल कक्षादेखि आधारभूत तहसम्म अध्ययनरत १ सय ३२ जना विद्यार्थीका लागि १३ हजार बराबरको कपि वितरण गरिएको थियो । विद्यालयमा अधिकाशं विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्दै आएको विद्यालयका शिक्षक विष्णुराज पौडेल बताउँछन । विद्यालयले हरेक क्षेत्रको सहयोगमा नै विद्यार्थीलाई नियमित पढ्न आउने वातावरण बनाएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका-१ का वडा अध्यक्ष जयबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव नारायण रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल भारतमैत्री संघ बागलुङ शाखाका अध्यक्ष गणेशराज लम्सालको अध्यक्षता, उपाध्यक्ष सुमन भुषालको स्वागत, सचिव श्रीकृष्ण पौडेलको सञ्चालन र रामरेखा आधारभूत विद्यालयकी प्रध्यानाध्यापक सिर्जना शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।





















































































































































































































