बागलुङ । कानुन समूहका पूर्वसचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल सरकारको न्याय परिषद्को सिफारिसमा प्रशासकीय अदालतको सदस्यमा नियुक्त गरिएको छ । कर्मचारीसम्बन्धी विवाद हेर्ने विशेष अदालतका रूपमा रहेको प्रशासकीय अदालतमा श्रेष्ठको नियुक्ति एक अनुभवसिद्ध व्यक्तित्वको पुनः सक्रिय प्रवेशको रूपमा लिइएको छ ।श्रेष्ठले सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगको सचिवका रूपमा काम गरीसक्नुभएको छ ।
श्रेष्ठ बागलुङ नगरपालिका २ वडा, आवा रोड निवासी हुन् । नेपाल सरकारको सेवामा कानुन समूहमा आवद्ध रही लामो समय काम गर्नुभएका श्रेष्ठ हालै ५८ वर्षे उमेर हद पुगेका कारण अनिवार्य अवकाशमा जानुभएको थियो । प्रशासकीय अदालतमा अध्यक्ष तथा सदस्यहरूको सिफारिस नेपाल सरकार अन्तर्गत रहेको न्याय परिषद्बाट गरिन्छ । सोही प्रक्रियामा श्रेष्ठको पनि सिफारिस भई नियुक्ति गरिएको हो ।
श्रेष्ठको नियुक्तिपछि उहाँलाई कानुनी क्षेत्रका व्यक्तित्वहरू, सहकर्मी, शुभेच्छुकहरू तथा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । नेपालको कानुनी प्रशासनमा लामो समयको अनुभव बोकेका श्रेष्ठको योगदान अब प्रशासकीय अदालतमा अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।













































































































































































































