३ श्रावण २०८३, आईतवार

 

प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन कप सम्पन्न

बागलुङ । लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन कप–२०८२ सम्पन्न भएको छ । शनिबार उक्त कार्यक्रमको पुरस्कार वितरणसँगै समापन गरिएको छ ।

ढोरपाटन लायन्स क्लबको आयोजनामा पहिलो पटक बुर्तिबाङमा आयोजित उक्त राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगितामा बी लेभलमा ३८ टिम र सी लेभलमा ३२ टिमको सहभागिता रहेको थियो ।

बी लेभलतर्फ तनहुँका सफल भुजेल र स्याङ्जाका सुन्दर विक प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी चितवनका विधान गुरुङ र स्याङ्जाका चिना गुरुङले द्धितीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी रुकुमका मदन खड्का र बसन्त पाण्डे अनि तनहुँका सरोज गुरुङ र विपिन घलेले तृतीय स्थान हासिल गरेका छन् । बी लेभलतर्फ प्रथम समूहलाई नगद रु ५० हजार, द्धितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १०-१० हजार सहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी सी लेभलतर्फ जैमिनीका भुवन थापा र हिमाल श्रीसले प्रथम स्थान हासिल गरेका छन् भने गलकोटका जीवन साहनी र मिलन खत्रीले द्धितीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी बडिगाडका रेशम थापा र सुमन घर्ती अनि जैमिनीका प्रदिप सापकोटा र राजेन्द्र थापाले तृतीय स्थान हासिल गरेका छन् । सी लेभलतर्फ प्रथम हुने समूहलाई नगद रु। ३० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुने प्रत्येक दुई समूहलाई ७ हजार ५ सय सहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रमका कार्यक्रमका प्रायोजक तथा युवा व्यवसायी दिपक कुमार अदैको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ढोरपाटनले पहिलो पटक राष्ट्रिय स्तरको उत्कृष्ट व्याडमिन्टन प्रतियोगिताको आयोजना गरी राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र केसीले लायन्स क्लबले सक्रिय रुपमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको र त्योसँगै खेलकुद क्षेत्रमा समेत सक्रियता देखाएको बताउनु भयो ।

उहाँले पहिलो पटक विभिन्न जिल्लाबाट बुर्तिबाङमा यति धेरै राष्ट्रिय स्तरका खेलाडी समूहको उपस्थित गराई राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बुर्तिबाङमा आयोजित कोजाग्रत पूर्णिमा मेलाकै अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ ढोरपाटनले आगामी कार्तिक १४ र १५ गते बुर्तिबाङमा निःशुल्क आँखा शिविर समेत संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung