३ श्रावण २०८३, आईतवार

 

कुश्मीसेरा–पोखरा बस सेवा सुरु

बागलुङ । विहीबारदेखि कुश्मीसेरादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ।

आजदेखि जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारदेखि ,जैमिनीधाम, फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखराको लागि बससेवा सुरु भएको छ । कुश्मीसेरा–पोखरा बस सेवाको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बस समितिका सञ्चालक, चालक, सहचालक र यात्रुलाई स्वागत गरेर सुभारम्भ गर्नु भयो ।

बिहान ७ बजेदेखि कुश्मीसेराबाट र पोखराको नागढुङ्गाबाट दिउँसो ११ बजेबाट बस छुट्ने छ।पृथ्वी राजमार्ग बस संचालन प्रालि र स्याङ्जा गण्डकी बस संचालन प्रालिले बस सेवा सुरु गरेको हो । बस सेवा सुरु भएपछि यो रुटमा पर्ने स्थानीयबासीहरुले र समग्र जैमिनीवासीले यातायातको सुबिधा पाउने जैमिनी नगरपालिकाका उपमेयर शर्माले नयाँ विश्वलाई बताउनुभयो ।

कुश्मीसेरा–पोखराको भाडा ५ सय ५० कायम गरिएको छ।यात्रुलाई सहज बनाउनका लागि पोखरामा टिकट काउन्टर स्थापना गरिएको छ भने कुश्मीसेरा बजारमा पनि स्थापना हुँदै छ।

यसबाट जैमिनी नगरपालिका र त्यस वरपर घुम्न आउने आन्तरिक तथा बाह्र पर्यटकलाई सहज हुने र पोखरा घुम्न जान र स्वास्थ्य उपचार लिनको लागि सहयोग पुग्ने विश्वास गरिएको छ। यो सेवाबाट दब्ल्याङ र कालाखोला सडक अवरुद्ध हुँदा वैकल्पिक यात्रा गर्न पनि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung