७ कार्तिक २०८३, शुक्रबार

 

विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष टोपबहादुर विजुक्छेको निधन

बागलुङ । विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष तथा शिक्षासेवी टोपबहादुर विजुक्छेको निधन भएको छ । विजुक्छेको शनिबार ९३ वर्षको उमेरमा काठमाडौंको सोल्टीमोड निवासमा निधन भएको हो । ‘विजुक्छेलाई शनिबार पशुपती आर्यघाटमा दिउँसो ४ बजे बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पदाधिकारी र सदस्य, उहाँका आफन्त, शुभचिन्तक, शिक्षासेवी र वामपन्थी नेताहरुले अन्तिम श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको’ बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका उपाध्यक्ष किस्मत मणि श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो

। विजुक्छेले विसं २०२७ सालदेखि २०२९ सालसम्म पुस्तकालयको अध्यक्षको रुपमा नेतृत्व गरेर पुस्तकालयको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।विजुक्छे २०२५ सालमा कालिका आदर्श गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च पनि हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा २०२८ साल मंसिर १ गते विद्यामन्दिर पुस्तकालयलाई विद्यामन्दिर माध्यमिक विद्यालयबाट शिवधारा चोकमा रहेको मुस्ताङ जाने तिर्थयात्री बस्ने ठाँटीमा सार्नु भएको थियो ।

उहाँले आफनो छोरा समिर विजुक्छेको स्मृतिमा पुस्तकालयलाई जग्गा पनि दान गर्नु भएको थियो । ३३ वर्षपछि त्यहि ठाँटीमा पुस्तकालयको आधुनिक भवन निर्माण भएको हो ।

‘नौविसे टोलमा रहेको विजुक्छेको घर वामपन्थी र प्रगतिशील विचार भएका युवाहरुको जमघट हुने, बहस र विमर्श गर्ने थलो रहेको’ नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठले बताउनुभयो ।उहाँले सर्वसाधारण गरिबको छोराछोरीले पनि पढ्न पाउनुपर्छ, रोजगारी पनि पाउनु पर्छ भन्दा उहाँ सर्वसाधारण जनता, प्रगतिशिल र वामपन्थी विचार बोक्ने युवाहरुबिच चर्चित हुनु भयो ।’

‘उहाँले धौलागिरि बहुमुखी क्याम्पस निर्माण गर्न निरयघाटमा पुल कर उठाउनको लागि पनि नेतृत्व गर्नु हुँदा साहुमहाजन र सामन्तको आँखाको तारो  हुनुको साथै तेजेन्द्रबहादुर खड्का र ओमकार गौचन जस्ता शक्तिशाली राजनैतिक समूहको दबदबाको बेला उहाँ तेस्रो शक्तिको रुपमा पनि उदाउनु भएको’ श्रेष्ठले बताउनुभयो ।

‘उहाँको घर बौद्धिक जागरणको केन्द्र थियो,  वामपन्थी विचारधारा भएका विजुक्छेको घरमा र प्रजातान्त्रिक विचारधारा भएका नारायण चोकस्थित ओमप्रसाद गौचनको घरमा जम्मा हुने चलन थियो, विजुक्छेले विद्यार्थीहरु र युवाहरुलाई संगठित गर्न, सामाजिक र वैचारिक रुपमा उहाँहरुको चेतनास्तर माथि उठाउन प्रभावकारी भूमिका खेल्नु भएको हो, उहाँले धौलागिरि बहुमुखी क्याम्पस बनाउन र विद्यान्दिर पुस्तकालयलाई शिवधारा चोकस्थित ठाँटीमा सार्न र उक्त ठाँटीको जग्गा पुस्तकालयको नाममा नामसारी गर्न पनि ठूलो योगदान गर्नु भएको हो, उहाँको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई पुस्तकालयको तर्फबाट नागरिक सम्मान पनि गरेका थियौ । ’ विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक तथा पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारीलाई बताउनुभयो ।

उहाँले यस क्षेत्रको शैक्षिक, राजनैतिक र सामाजिक जागरणमा पनि महत्वपूर्ण योगदान दिनु भएको थियो ।विजुक्छेलाई विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung