३ श्रावण २०८३, आईतवार

 

कविता वाचन गरेर बागलुङमा मनाइयो देवकोटा जयन्ती

बागलुङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती बागलुङमा कविता वाचन गरेर मनाइएको छ ।

विद्यामन्दिर पुस्तकालय बागलुङ देवकोटा जयन्ती संयोजन समितिले महाकवि देवकोटाले नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा र राजनीतिमा पुर्याएको योगदान बारे चर्चा गर्नुको साथै कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले ‘देवकोटाले नेपाली साहित्यमा कविता, निबन्ध र महाकाव्यमा उल्लेख्य योगदान दिनुका साथै पत्रकारिता, राजनीति र शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको’ बताउनुभयो ।

‘राणा शासनको बेला भारतबाट नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुग्ने गरी सञ्चालनमा आएको युगवाणी साप्ताहिकको सम्पादनको भूमिका निर्वाह गर्नुको साथै २००७ सालपछिको सरकारमा राजनैतिक सल्लाहकारको भूमिका निर्वाह गर्नु भएका देवकोटाले २०१४ सालमा डा. केआइसिंहको सरकारमा शिक्षा मन्त्रीको रुपमा त्रिभुवन विश्व विद्यालय र प्रज्ञा प्रतिष्ठान स्थापनामा योगदान गर्नुका साथै नेपाली भाषालाई विद्यालय र विश्वविद्यालयमा अनिर्वाय गराएर नेपाली भाषाको जग मजबुत गराउन कथन मेहनत गर्नु भएको’ बताउनुभयो ।

देवकोटा जयन्ती संयोजन समितिका संयोजक काजि रोशनले महाकवि देवकोटाको जिवनी र योगदान बारे चर्चा गर्नुभएको थियो । प्रतियोगिताको नियम बारे मधुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक समितिका संयोजक धनराज सापकोटाले जानकारी गराउनुभएको थियो ।

कविता प्रतियोगितामा रामचन्द्र शर्मा उन्मुक्त प्रथम, विजय श्याम राजभण्डारी द्धितीय र कोपिला कँडेल तृतीय भएका छन । सो अवसरमा धनराज सापकोटा ‘जिज्ञासु’ र याम बहादुर थापाले अप्रतियोगि कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, पुस्तकालयका निवर्तमान अध्यक्ष राम थापा ‘अविरल’ को स्वागत मन्तव्य र स्मृति प्रकाशनका अध्यक्ष गुणराज शर्मा ‘गुराँस’ को सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung