३ श्रावण २०८३, आईतवार

 

गण्डकी सभ्यता बचाउ अभियान सञ्चालन गर्न धौलागिरि क्षेत्रमा कार्यविभाजन

बागलुङ । धौलागिरि समाज नेपालले गण्डकी सभ्यता बचाऔं महाअभियानलाई सफल बनाउन जिम्मेवारी बाँडफाँट गरेको छ । समाजको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गण्डकी सभ्यता बचाउन धौलागिरि क्षेत्रका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका लागि कार्य विभाजन गरेको धौलागिरि समाज नेपालका अध्यक्ष गोविन्द प्रसाद शर्मा पौडेलले नयाँ विश्वलाई बताउनुभयो ।

संस्कृति, सभ्यता, पर्यावरणको रक्षा र पर्यटन प्रवद्र्धनको लागि समाजले मुस्ताङको लागि अध्यक्षमा शक्तिलाल ज्वारचन,सचिवमा सञ्जय थकाली, म्याग्दीका लागि अध्यक्षमा रमेश प्रसाद सुवेदी, सचिवमा दिनेश नारायण श्रेष्ठ, बागलुङका लागि पद्यनाथ शर्मा सापकोटा, सचिवमा सुरेन्द्र सुवेदी र पर्वतको लागि बुद्धिमान गौडेल, सचिवमा जैसरा शर्मा रहेका छन् ।

कालीगण्डकीलाई पवित्र राख्न विभिन्न किसिमका जनचेतनामूलक काम गर्दैछौं, गण्डकी सभ्यता जोगाउन, सबै नदीमा भइरहेको दोहन रोक्नको लागि क्रियाशिल छौं, वातावरण र पर्यावरणको रक्षा र धार्मिक आस्थालाई जोगाउन साबिकको धौलागिरि अञ्चलका प्रत्येक जिल्लामा सचेतना र बौद्धिक जागरण चलाइ रहेको धौलागिरि समाज नेपाल निर्वतमान अध्यक्ष तथा गण्डकी सभ्यता बचाऔं महाअभियानको अध्यक्ष केदारनाथ गौतमले बताउनुभयो ।

हामीले गण्डकी सभ्यता बचाउन भनेर महाभियान सुरु गरेका छौं । गण्डकीले तीन प्रदेशलाई छुन्छ– गण्डकी, लुम्बिनी र वाग्मती । गण्डकीमा दामोदर कुण्डदेखि बग्ने नदी र गोसाइँकुण्डदेखि प्रवाहित भई त्रिशूली नदी देवघाटमा गएर मिसिन्छन् ।ती नदीलाई मिलाएर हामीले महाभियान सुरु गरेका हौं । यसमार्फत विभिन्न क्षेत्रका विद्धानहरु माझ त्यस क्षेत्रको महत्त्वबारे विमर्श र बहस चलाउँदैछौं र गण्डकीलाई शुद्ध बनाउने, शालिग्रामको महत्त्वबारे जनचेतना फैलाउने कार्य भइरहेको धौलागिरि समाज नेपालका महासचिव एकनारायण उपाध्यायले बताउनुभयो ।

धौलागिरि समाज नेपाल र गण्डकी सभ्यता बचाऔं महाअभियानले लामो समयदेखि जल, जमिन र हावाको संरक्षण, नदीको ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र धार्मिक महत्वको प्रचार र अहिले नदी र त्यस वरपर भइरहेका तीव्र दोहनको विरुद्ध अभियान सञ्चालन गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung