बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं र विद्यामन्दिर पुस्तकालयले काठमाडौं महानगरपालिका कालिमाटी निवासी समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ तथा विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष टोपबहादुर विजुक्छेको स्मृतिमा विहिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
१३औँ दिनको पुण्यतिथिमा विजुक्छे प्रति समाज र पुस्तकालयको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वंयम प्रकाश श्रेष्ठ र विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्वअध्यक्ष तथा संरक्षक समितिका सचिव महेशचन्द्र प्रधानले बागलुङको सामाजिक, शैक्षिक र राजनैतिक क्षेत्रमा टोपबहादुर विजुक्छेको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
विजुक्छेको ९३ वर्षको उमेरमा गत कार्तिक १ गते देहावसान भएको थियो ।श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा कुमुद विजुक्छेले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा टोपबहादुर विजुक्छे र राघेश्याम कमारोको स्मृतिमा अक्षय कोष स्थापना गरि जनउपयोगी पुस्तक बागलुङ समाजको पुस्तकालयलाई प्रदान गर्ने उद्धेश्यले बैकुण्ठ प्रसाद विजुक्क्षेले पठाएको एक लाख रुपैयाँको चेक विद्यामन्दिर पुस्तकालय पूर्वअध्यक्ष प्रधानले समाजका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।
सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका उपाध्यक्ष किस्मतमणि श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ, पुस्तकालयका मुख्य संरक्षक तथा पूर्वअध्यक्ष परशुराम श्रेष्ठ, पूर्वअध्यक्षहरु गंगा कसजु, मोहनश्याम राजभण्डारी, श्याम प्रसाद श्रेष्ठ र राजेशचन्द्र राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सचिव दिपकचन्द्र प्रधानले गर्नु भएको थियो ।
विजुक्छेका योगदानहरु
विसं १९९० साउन १२ गते बागलुङ बजारको नौबिसे टोलमा जन्मनु भएका विजुक्छेले विसं २०२७ सालदेखि २०२९ सालसम्म पुस्तकालयको अध्यक्षको रुपमा नेतृत्व गरेर पुस्तकालयको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।
विजुक्छे २०२५ सालमा कालिका आदर्श गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च पनि हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा २०२८ साल मंसिर १ गते विद्यामन्दिर पुस्तकालयलाई विद्यामन्दिर माध्यमिक विद्यालयबाट शिवधारा चोकमा रहेको मुस्ताङ जाने तिर्थयात्री बस्ने ठाँटीमा सार्नु भएको थियो ।
उहाँले आफनो छोरा समिर विजुक्छेको स्मृतिमा २०३० सालमा पुस्तकालयपछाडि रहेको जग्गा पनि दान गर्नु भएको थियो । ठाँटीको सार्वजनिक जग्गा पुस्तकालयको नाममा लालपुर्जा दिलाउन नेतृत्व गर्नु भएको थियो । ३३ वर्षपछि त्यहि ठाँटीमा पुस्तकालयको आधुनिक भवन निर्माण भएको हो ।
उहाँ २०२१ सालमा स्थापना भएको धवलागिरि वीरेन्द्र मावि रात्री स्कुलको सञ्चालक समितिको संस्थापक अध्यक्ष र २०१९ सालमा विद्यामन्दिर माविमा सञ्चालनमा आएको धवलागिरि महेन्द्र इन्टर कलेजको चन्दा संकलन समितिको सदस्य तथा धौलागिरि बहुमुखी क्याम्पस निर्माण गर्न निरयघाटमा पुल कर उठाउनको लागि पनि नेतृत्व गर्नु हुँदा साहुमहाजन र सामन्तको आँखाको तारो हुनु भएको थियो ।
नौविसे टोलमा रहेको विजुक्छेको घर वामपन्थी र प्रगतिशील विचार भएका युवाहरुको जमघट हुने, बहस र विमर्श गर्ने थलो रहेको थियो । उहाँले सर्वसाधारण गरिबको छोराछोरीले पनि पढ्न पाउनुपर्छ र रोजगारी पनि पाउनु पर्छ भन्दा उहाँ सर्वसाधारण जनता, प्रगतिशिल र वामपन्थी विचार बोक्ने युवाहरुबिच उहाँ चर्चित हुनु भयो ।
उहाँ र उहाँका भाईहरु बैकुण्ठ विजुक्छे र राघेश्याम कमारोले बागलुङमा सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनैतिक जागरण ल्याउन अतुलनिय भूमिका खेल्नु भएको थियो । बिस र तीसको दशकमा वामपन्थी विचारधारा भएका युवाहरु विजुक्छेको घरमा र प्रजातान्त्रिक विचारधारा भएका नारायण चोकस्थित ओमप्रसाद गौचनको घरमा जम्मा हुने चलन थियो ।
विजुक्छेले विद्यार्थीहरु र युवाहरुलाई संगठित गर्न, सामाजिक र वैचारिक रुपमा उहाँहरुको चेतनास्तर माथि उठाउन प्रभावकारी भूमिका खेल्नु भएको थियो ।तेजेन्द्रबहादुर खड्का र ओमकार गौचन जस्ता शक्तिशाली राजनैतिक समूहको दबदबा रहेको त्यस बेला उहाँ तेस्रो शक्तिको रुपमा पनि उदाउनु भएको थियो ।




















































































































































































