२१ भाद्र २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ पञ्चकोटद्वारा विद्यार्थीलाई कानूनी सचेतना

बागलुङ । लायन्स क्लब अफ बागलुङ पञ्चकोटको आयोजनामा बागलुङको कालिका कन्या माविमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थीलाई कानूनको अनविज्ञताले धेरै समस्या आउने गरेकोले लायन्त क्लबले कानूनी सचेतना प्रदान गरेको हो ।

उक्त अवसरमा लागूऔषध दुव्र्यसन, बालअधिकार, बालविवाह र बालयौन दुव्र्यवहारबारे माध्यामिक तहका विद्यार्थीलाई सचेतना दिइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिका-३ का अध्यक्ष सनि केसीले अनुशासन नै बालबालिकाको पहिलो गहना भएको भन्दै कानूनी सचेतनाले विद्यार्थीको भविष्य उज्वल बन्ने बताउनुभयो ।

उहाँले अपराधरहित समाज बनाउन विद्यालयमै कानूनको ज्ञान हुनुपर्ने पनि बताउनुभयो । सचेतनाको अवसरमा अधिवक्ता हरिप्रसाद गौतमले बालयौन दुव्र्यवहार, अधिवक्ता प्रकाश बरालले बालअधिकार, बालविवाह तथा कानूनका विद्यार्थी प्रविन हमालले लागूऔषध दुव्र्यसनबारे सहजीकरण गरेका थिए ।

कर्तव्य र अधिकारबारे लायन्स क्लब ३२५ जेका डिस्ट्रक चिफ गणेशराज लम्सालले जानकारी गराउनु भएको थियो ।

कालिका कन्या माविका पूर्वप्रधानाध्यापक धनराज सापकोटाले विद्यार्थीलाई कानूनका विभिन्न विषयमा जानकारी दिएर सचेतना बढाउने कार्य भएको र क्लबले यस्तो कार्यक्रम नियमित गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रम लायन्य क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष अधिवक्ता हरिप्रसाद गौतमको अध्यक्षता, लायन्स क्लब ३२५ जेका रिजन चियरपर्सन रमेश शर्माको स्वागत र कोषाध्यक्ष गोविन्द सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका वडा सदस्यहरु अर्जुन खड्का, नगेन्द्रबहादुर केसी र विद्यालयका प्रधानाध्यापक सुदर्शन कँडेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung