४ श्रावण २०८३, सोमबार

 

गलकोटमा ४० जना मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गलकोट । गलकोटमा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर समापन कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट आँखा उपचार केन्द्र गलकोट नगरपालिका-५ तथा इमरजेन्सी अस्पताल प्रा.लि. गलकोट नगरपालिका-३ को संयुक्त आयोजना, नेपाल नेत्रज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पताल बागलुङ, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बागलुङ गलकोट घुम्टे, लायन्स क्लब अफ बागलुङ गलकोट र नविल बैंक गलकोट शाखाको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरबाट एक सय पचास जनाले सेवा लिएका थिए ।

शिविरमा ४० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। स्थानीय तहदेखि सहकार्य संस्था र स्वास्थ्यकर्मीहरूको सक्रिय भूमिका र समर्पणका कारण शिविर सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । शल्यक्रिया गरिएको बिरामीहरुलाई आज डिस्चार्ज समेत गरिएको थियो ।

समापन कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले समाजका ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा न्यून वर्गका व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने लक्ष्य अनुसार यस्तो शिविर सञ्चालन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका रुपमा अघि सारेको छ ।

आम नागरिकले सहज, सरल र निःशुल्क सेवा पाउन सकून् भन्ने उद्देश्यले यस्तो सेवामूलक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै जाने बताउँदै आँखा उपचार जस्तो महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गरिरहेका सबै साझेदार संस्थालाई नगरपालिकाका तर्फबाट धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पताल बागलुङका सभापति विन्दु सागर राजभण्डारी र हिमालयन आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा कृष्ण गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम इमरजेन्सी अस्पताल प्रा।लि। सञ्चालक समितिका अध्यक्ष तारानाथ आचार्यको अध्यक्षता, गलकोट आँखा उपचार केन्द्र गलकोटका अध्यक्ष नारायणध्वज मल्लको स्वागत तथा गणेश सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung