४ श्रावण २०८३, सोमबार

 

मन्त्री घिसिङलाई गलकोट र ताराखोलावासीले गराए ध्यानाकर्षण

काठमाडौं । बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले गलकोट र ताराखोलाका विभिन्न समसामयिक विषयमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिंचाई एवं सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन ।

मन्त्री घिसिङलाई मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्ड कालोपत्रे लामो समय बितिसक्दा समेत नभएको, अन्तराष्ट्रिय गलकोट मुर्तिकलासम्म कालोपत्रे सडक निर्माण, गलकोट ताराखोला सहज यातायात अनि निशुल्क एम्बुलेन्स सेवा, गलकोट नगर अस्पतालको लागि थप भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न, स्थानीय तहको बजेटले सम्भव नभएका स्थानमा संघिय सरकार मार्फत खानेपानी योजनामा आवश्यक बजेट, गलकोट नगरपालिका ७ को वडा कार्यालयको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन, गल्याङ पचुवा मोटरेवल पुल निर्माणले निरन्तरता नपाएको, यस क्षेत्रको पर्यटन, पर्यावरण र भईरहेको विकास निर्माणका काममा दिगोपनसँगै गुणस्तरियतालाई मध्यनजर गर्दै कार्यसम्पादन हुनुपर्ने लगायतका विषयमा ध्यानकर्षण गराईएको समाजसेवी मिलन केसीले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्डले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको भन्दै ध्यानाकर्षण गराईएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री घिसिङले सम्बन्धित कार्यालय र निकायलाई यथाशिघ्र यी विषयमा कार्य सम्पादन गर्न निर्देशन दिनुभएको बताईएको छ । मन्त्री घिसिङले नागरिकसँग आवश्यक सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

साथै मागपत्रमा प्रस्तुत विद्यमान समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक पहल र कार्य सम्पादन हुने बताउनु भयो ।

कार्यक्रममा गलकोट घुम्टे विकास मञ्च काठमाण्डौ, बागलुङ गलकोट महिला समूह काठमाडौं, गलकोट समाज काठमाण्डौ, ताराखोला समाज काठमाण्डौ , बागलुङ समाज भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरु सहित जनप्रतिनि, समाजसेवी र सरोकारवालाको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung