काठमाडौं । विद्यामन्दिर माध्यमिक विद्यालयद्वारा बागलुङ नगरपालिका-३ नयाँ बजार जन्म घर भई हाल ललितपुर महानगरपालिका कुपण्डोल टोल निवासी पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको स्मृतिमा सोमबार स्मृति सभा आयोजना गरिएको छ ।
विसं १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नेतृत्वमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरु उर्जा वैज्ञानिक राममनोहर श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र डा. पुकार चन्द्र श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठ प्रति विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, सहायक प्रधानाध्यापक प्रशासनिक थानेन्द्र प्रसाद गौतम र सहायक प्रधानाध्यापक शैक्षिक मुकुन्द प्रसाद शर्माले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
श्रेष्ठको ९४ वर्षको उमेरमा गत मंसिर १६ गते देहावसान भएको थियो ।स्मृति सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र श्रेष्ठ परिवारले विद्यामन्दिर माविको नयाँ भवन निर्माणको लागि आर्थिक संकलन गर्न पूर्वविद्यार्थीहरु र शिक्षासेवीहरु ओमकार गौचन, लालचन्द्र राजभण्डारी, पुष्पमान श्रेष्ठ र सुमन शाक्यसँग मिलेर २८ वटा कोठा निर्माणको लागि नेतृत्व गर्नुका साथै विद्यालयमा १२ लाख ५० हजारको आर्थिक सहयोगमा एउटा कोठा पनि निर्माण गर्नु भएको थियो ।
स्मृति सभामा पूर्वविद्यार्थीहरु तथा धवलागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र मान शाक्य, पूर्वअध्यक्ष तथा सल्लाहकार श्रवणलाल शाक्य, कार्यसमिति सदस्य बसन्त किशोर श्रेष्ठ, सल्लाहकार मोहनश्याम राजभण्डारी, उपाध्यक्ष सम्पूर्ण नारायण भारी, सदस्यहरु बालकुमार शाक्य, नविना श्रेष्ठ,जमुना राजभण्डारी र प्रबन्धक केशवचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा पूर्वविद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































