३ श्रावण २०८३, आईतवार

 

राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कुललाई

बागलुङ । बागलुङ नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङले चुमेको छ । चिल्ड्रेन लाईफले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदक सहित शिल्ड हाता पारेको हो ।

प्रतियोगितामा अमर आदर्श मावि दोस्रो भएको छ । अमर आर्दशले १० स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३८ पदक हाता पारेर दोस्रो भएको हो । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो र दोस्रो स्थान जमाएका चिल्ड्रेन र अमरआर्दशले यसपाली पनि कायम राख्न सफल भएका छन ।

पहिलो र दोस्रो स्थान ओगटेका निजी विद्यालयलाई पछाउँदै जिल्लाकै पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । विद्यामन्दिरले ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक हाता पारेर आफुलाई तेस्रो स्थानमा पार्न सफल भएको हो ।

विजयी पहिलो हुने शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । लगातार दोस्रो पटक शिल्ड हात पारेको चिल्ड्रेड लाईफले नवौँ प्रतियोगिता पनि जितेमा शिल्ड आफ्नो बनाउने छ ।
कुल ६६ पदकका लागि भएको खेलमा नगरभित्रका ३० विद्यालयको सहभागिता रहेको थियो । जसमा २२ विद्यालयले विभिन्न विद्यामा पदकहरु हात पारेका छन ।

अघिल्लो वर्ष तेस्रो स्थान हासिल गरेको गणेश माविले ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी १३ पदकमा चित्त बुझाउनु प¥यो । त्यसैगरी कालिगण्डकी आवसीय माविले १४, धौलागिरि बहिरा र सनराईज एकेडेमीले १२, माविकले १०, न्यू ओयसिस एकेडेमीले ११, रुद्रेपिपल माविले १०, जनता धन मावि नारायणस्थानले ७, न्यू एभरेष्ट एकेडेमीले ९ पदक जितेको बागलुङ नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख उपसचिव धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी फ्युचर ब्राईटर माविले २, होलि चाइल्ड माविले ४, रामरेखा आधारभूत विद्यालयले १, सिद्धार्थ शिक्षा सदनले १, कलिका कन्या माविले ३, यूएस एकेडेमीले ४, प्रिसियस एकेडेमीले, मालिका मावि र धविमाविले १÷१ पदक हात पारेका थिए । प्रतियोगितामा ११ निजी विद्यालय र ११ सामुदायिक विद्यालयले विभिन्न पदकहरु हात पारेको छ ।

विजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको छ । शिक्षासँगै खेलकुद पनि अपरिहार्य भएको हुँदा खेलकुद क्षेत्रको विकास निम्ति नगरपालिकाले जोड दिने श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका  ५ का अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल र दिपक शर्माले गरेका थिए ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung