बागलुङ। सूचना र सञ्चारलाई संस्थागत गर्ने लक्ष्यका साथ दुर्इ दशक पहिला धौलागिरी क्षेत्रमा सञ्चालनमा आएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ आजदेखि २०औँ वर्षमा प्रवेश गरेको छ ।
संस्थाको स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका ७० लक्ष्मीनारायण तथा बाल गोपाललाई आज बिहानको खाना उपलब्ध गराइएको थियो ।
कार्यक्रमको शुभारम्भ संस्थाका सल्लाहकार कमल प्रसाद श्रेष्ठले गर्नु भएको थियो । मानव सेवा आश्रमले सडकमा रहेका नागरिकहरुका लागि गरेको सेवामा संस्थाका तर्फबाट सहभागिता जनाउन पाउदा खुशी लागेको सल्लाहकार श्रेष्ठले बताउनुभयो ।
आदर्श सञ्चार सहकारी संस्थाले मानव सेवा आश्रमलाई भौतिक कुरा दिएर मात्र होइन, सूचना तथा सञ्चारका क्षेत्रबाट समेत महत्वपूर्ण साथ र समर्थन गर्दै आएको मानव सेवा आश्रमका सहकोषाध्यक्ष सुमिरा लामाले जानकारी दिनुभयो ।
संस्थाले स्थापना दिवस लगायत विभिन्न समयमा सहकारीको मर्म र भावना अनुसार सबै क्षेत्रमा साथ सहयोग गर्दै आएको र विशेष गरेर सूचना तथा सञ्चारका माध्यममार्फत नागरिकलाई सचेत बनाउने काममा सक्रिय रहेको अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले बताउनुभयो ।
सञ्चारलाई संस्थागत गर्ने हाम्रो अभियानले २ दशक छोएको छ । यो अवधीमा हामीले धेरै उकाली–ओराली, आरोह–अवरोह, गाली–ताली लगायत थुप्रै चुनौतीको सामना गरेका छौ, अध्यक्ष जिसीले भन्नुभयो, –‘चुनौतीको सामना गर्दै अगाडि बढ्ने कुरामा हामी प्रतिवद्ध छौ ।’
दुइ दशकको यो संघर्षपूर्ण यात्रालाई सहज बनाउन हामीलाई सल्लाह, सुझाव दिएर उत्साहित बनाउनेसंगै आलोचना, विरोध गरेर सतर्क हुन, संयमित हुन र सचेतनापूर्वक अगाडि बढ्न प्रेरित गर्नु हुने सबैमा स्थापना दिवसका अवसरमा धन्यवाद ज्ञापन गर्दछौ, अध्यक्ष जिसीले भन्नु भएको छ ।
३२ जना शेयर सदस्यबाट ३ लाख २० हजार शेयर रकम जम्मा गरी शुरु भएको आदर्श सञ्चार सहकारी संस्थामा संस्थाले २० वर्षदेखि धौलागिरी जागरण दैनिक, १५ वर्षदेखि अग्रसर साप्ताहिक पत्रिका, ७ वर्षदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै १२ वर्षदेखि धौलागिरी टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको छ ।
हाल ३५ सय जना शेयर सदस्य, ५ करोड ६० लाख शेयर रकम, २० करोड वचत, ३१ करोड कर्जा लगानी, २ करोड कोष सहित ३५ करोडको सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालकहरु गिता खड्का, अम्बिका जिसी, सम्पादक रामबहादुर जिसी, प्रवन्धक दिपकराज सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमका कार्यालय सचिव यमुनाले गर्नु भएको थियो ।

















































































































































































