बागलुङ । लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’को गृह विमोचन गरिएको छ । गत शुक्रबार काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित अमृतपानी आधारभूत विद्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि एवं पूर्वशिक्षक शिवलाल कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठानेश्वर कँडेल, प्रधानाध्यापक टीकाराम कँडेल, पुस्तकका लेखक भीम न्यौपानेलगायतले संयुक्त रुपमा विमोचन गरे ।
प्रमुख अतिथि कँडेलले लेखक न्यौपानेले आफ्नो जन्मथलोका लागि प्रेरणादायी काम गरेको बताए । विद्यार्थी, शिक्षक, अभिभावकलगायतको उपस्थितिमा पुस्तकको गृह विमोचन गरिएको लेखक न्यौपानेले बताए । आफूले अक्षर चिनेको विद्यालयमा पुस्तकको गृह विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको उनले उल्लेख गरे । उक्त अवसरमा रु। सात सय ९५ मूल्यको पुस्तकलाई रु। पाँच सयमा लेखकको हस्ताक्षरसहित उपलब्ध गराइएको थियो ।
पुस्तक बिक्रीबाट आएको रकम लेखके विद्यालयलाई नै हस्तान्तरण गरेका थिए । उक्त पुस्तक बिक्रीबाट आउने २० प्रतिशत रकम विद्यालयमा पुस्तकालय विस्तार तथा सुदृढीकरण, वातावरणीय स्वच्छता तथा सरसफाइ, विद्यार्थी पोशाक, अतिरिक्त कृयाकलाप, खेलकुद प्रशिक्षण तथा सामग्री खरिदमा खर्च गर्ने योजना रहेको लेखक न्यौपानेले बताए । “पुस्तक बिक्रीको २० प्रतिशत रकममा परिवारका तर्फबाट पनि रकम थप गरेर विद्यालयको विकासमा खर्च गर्ने योजना बनाएका छौँ”, उनले भने ।
‘किताब किरो’ प्रकाशनबाट बजारमा आएको उक्त पुस्तकको विमोचन गत भदौमा काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा गरिएको थियो । आत्मकथा र संस्मरण समावेश रहेको यस पुस्तक लेखक न्यौपानेको पहिलो कृति हो । पुस्तकमा लेखक न्यौपानेले आफ्नो बाल्यकाल र युवा अवस्थामा भोगेदेखेका घटना र परिवेशलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।
लेखक न्यौपानेले बागलुङको बिहुँकोटमा बिताएको बाल्यकाल, त्यसपछि चितवन र काठमाडौँमा बिताएको किशोर र युवाअवस्थालाई आत्मकथाका रुपमा पुस्तकमा चित्रित गरेका हुन् । उनले आफ्ना जीवन भोगाइ र अनुभूतिलाई सरल र मार्मिक रुपमा पुस्तकमा उतारेका छन् ।













































































































































































































