बागलुङ । लेखक ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ सार्वजनिक भएको छ । शुक्रबार कमलपोखरीको रुसी सदनमा पूर्वमन्त्री, पूर्वराजदूत नीलाम्बरआचार्य, पूर्वराजदूत प्रा. डा. जंगब चौहान, पूर्वराजदूत मिलन राज तुलाधर, नेपाल भाषा एकेडेमीका कुलपति कृष्ण सुन्दर मल्ल (मल्लके सुन्दर) , रुसी सदनका निर्देशक अनास्तासिया भ्यालेन्टिनोभना, नेपालस्थित रुसी महासंघ दूतावासको सहचारी निकिता वादिमोविच मन्सुरोभ, प्रा. डा. खेम कोराइला बन्धु, लेखक रामविन्दु श्रेष्ठले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
दोस्रो विश्व युद्धमा सोभियत संघ र युरोपको मुक्तिको लागि दुई करोड सत्तरी लाख सोभियत वीरहरुले गरेको बलिदान र अभूतपूर्व रुपमा रचेको देशभक्तिको कथा पुस्तकमा सुक्ष्म ढंगले लेखिएको छ ।
पुस्तकले नाजि फासिवादको विरुद्ध स्तालिनको नेतृत्व भएको महान संघर्षको गाथा लिपिवद्ध गरेको छ ।
अहिलेको विश्वमा फैलिएको नव नाजीवाद र तिनका हरकट तथा पश्चिमाहरुले दोस्रो विश्वयुद्धमा सोभियत संघको फासिवादमाथि विजयको निर्णयक भूमिकालाई न्यूनिकरण गर्दै इतिहासलाई तोडमरोड गर्न खोजेको तथ्यलाई लेखकले आफ्नो पुस्तकको केन्द्रविन्दु बनाएका छन् ।
नेपाल रुस साहित्य समाज प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय पचास रुपैयाँ रहेको छ।
कार्यक्रम राष्ट्रिय भूकम्प प्रविधि समाजका अध्यक्ष अमोद मणि दिक्षितको अध्यक्षता, नेपाल रुस साहित्य समाज काठमाडौंका सदस्य शकुन्तला जोशीको स्वागत र रसियन सांस्कृतिक केन्द्र पुस्तकालयकी प्रमुख भावना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । 














































































































































































































