बागलुङ । वडा शिक्षा समिति गलकोट नगरपालिका-७ वडाको विद्यालय अुनगमन कार्यक्रम सम्पन्न भएको छ ।
गत पौष ४ गते नेटा आधारभूत विद्यालय गलकोट नगरपालिका-७ झिर्काबाट सुरु भएको विद्यालय अनुगमन कार्यक्रम जनहित माध्यमिक विद्यालय, प्रगति आधारभूत विद्यालय, सिरबारे आधारभूत विद्यालय, गलकोट ईङलिस बोर्डिङ सेकेन्डरी स्कुल र दीप ज्योति आधारभूत विद्यालयको अनुगमन सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिका-७ का वडा अध्यक्ष राजबहादुर थापाले वडा भित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि शैक्षिक तथा व्यवस्थापकीय वातावरण बन्दै गएको बताउनुभयो ।
उहाँले वडामा रहेका सामुदायिक र संस्थागत ६ वटा विद्यालयको स्थलगत अनुगमन तथा अन्तरक्रिया पश्चात तयार पारिएको विद्यालयको वस्तुगत प्रतिवेदनलाई आवश्यक समीक्षा र विश्लेषण गरी ठोस कार्यक्रम गराईने बताउनु भएको थियो ।
त्यस्तै वडा सदस्य यशुदा थापाले शैक्षिक क्षेत्रमा भएको प्रगति नै समाज विकासको पूर्वाधार हुने भएकोले शिक्षामा सरोकारवाला सबैले लगानी गर्नुपर्ने बताउनुभयो ।
दीप ज्योति आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा शिक्षा समिति सदस्य तथा सिरबारे आधारभूत विद्यालयका प्रधानाध्यापक कल्पना गौतमले अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र प्रगति आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक रिमा गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































