बागलुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा गलकोट समाज जापानले ओसाका, नागोया र टोकियोमा साङ्गीतिक श्रृङ्खला २०२६ आयोजना गर्ने भएको छ। आफ्नो २० वर्षे सामाजिक यात्रामा बनाएको विश्वास, एकता र समुदायप्रति समर्पणलाई अझ मजबुत बनाउन यस वर्षको कार्यक्रमलाई विशेष महत्व दिइएको समाजले जनाएको छ ।
जापानलाई कर्मस्थान बनाएका गलकोटेहरुको सन् २००६ मा स्थापना गरेको समाजले नयाँ वर्षमा हरेक वर्ष विशेष कार्यक्रमहरु गर्दै आएको छ । यस वर्ष “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष रत्नसिँह बस्नेतले बताए ।
डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा विशेष साङ्गीतिक कार्यक्रम हुने उनको भनाइ छ । कार्यक्रममा गायक शिव परियार, गायिका समिक्षा अधिकारी, रामकृष्ण बम मल्ल, सूर्य खड्कालगायत कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
गत वर्षको कार्यक्रमबाट बचत भएको रकमबाट पहिलो चरणमा गलकोट नगरपालिका र ताराखोला गाउँपालिका अन्तर्गतका ११ वटा विद्यालयमा रु। पाँच लाखका दरले अक्षयकोष स्थापना गरिएको थियो । यो कोषले विद्यालयको शैक्षिक सुधार, विद्यार्थी अभिवृद्धि र दीर्घकालीन शैक्षिक लगानीमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यस वर्षको कार्यक्रमबाट बाँकी ८ माध्यमिक विद्यालयहरूमा अक्षयकोष स्थापना गरिने अध्यक्ष बस्नेतले बताए । “यो केवल मनोरञ्जनका लागि मात्र गरिएको कार्यक्रम होइन, यो शिक्षा र भविष्यका लागि गरिएको लगानी हो । हाम्रो उद्देश्य दीर्घकालीन परिवर्तन हो।”
यस वर्षको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू तथा जापानमा रहेका स्थानीय प्रतिभाहरू सहितको प्रस्तुति रहने समाजका महासचिव दिलीप कँडेलले जानकारी दिए । समाजले जापानमा रहेका नेपाली सङ्घसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई पारदर्शी र व्यवस्थित प्रणालीमार्फत आर्थिक रूपमा सहभागी गराउने तयारी गरेको छ ।
कार्यक्रमका मुख्य संयोजक दिल बहादुर थापा ‘रामु’का अनुसार साङ्गीतिक श्रृङ्खला २०२६ लाई सफल, गरिमामय र समुदाय केन्द्रित बनाउने लक्ष्यसहित तयारी तीव्र पारिएको छ । कलाकार, प्राविधिक टोली, स्वयंसेवक र समुदाय सबैको सक्रिय सहयोगले कार्यक्रम सफल हुने विश्वास लिइएको संयोजक थापाले बताए ।













































































































































































































