३ श्रावण २०८३, आईतवार

 

बागलुङको सिडिओ कुमानसिंह गुरुङसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

- प्रमुख जिल्ला अधिकारी गुरुङ निलम्बित

बागलुङ । कुश्मा नगरपालिकाको ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (बागलुङका प्रमुख जिल्ला अधिकारी) कुमानसिंह गुरुङ सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

विशेष अदालतमा मुद्दा दायर भएपछि हाल बागलुङका प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका गुरुङ निलम्बित हुनुभएको अखितयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त शुरेस न्यौपानेले जानकारी दिनुभयो ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र निर्माण व्यवसायी लालबहादुर मल्लविरुद्ध आरोपपत्र दायर गरेको हो ।कुश्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको काम अलपत्र पारी ठेकेदार र कर्मचारीको मिलेमतोमा रु। १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ ।

आर्थिक वर्ष २०७८-७९ मा सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित बजेटबाट भवन निर्माणका लागि मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु।९६ लाख ३० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तर, निर्माण व्यवसायीले काम नै नगरी अलपत्र पारेको अवस्थामा पनि कर्मचारीसँगको मिलेमतोमा भुक्तानी लिएको पाइएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काम नसकी सम्पर्कविहीन भएका ठेकेदारको बैंक जमानत जफत गर्नुपर्नेमा म्याद गुज्रिन दिई उल्टै थप भुक्तानी दिइएको थियो ।

साथै, पुरानो ठेक्काबाट असुल गर्नुपर्ने रकम असुल नगरी सोही कामका लागि नयाँ ठेक्का लगाएर राज्यलाई दोहोरो दायित्व सिर्जना गराई नोक्सानी पु¥याएको अनुसन्धानबाट खुलेको छ ।

आयोगले प्रतिवादीहरूबाट बिगो असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung